धरान: प्रहरीले चार दिन अघि इटहरी २ स्थित एक घरमा बम बिष्फोट भएको घटनाको मुख्य योजनाकारसहित ४ जनालाई पक्राउ गरेको छ । 

पक्राउ परेका चारै जनालाई प्रहरीले सार्वजनिक समेत गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा घटनाको मुख्य योजनाकार झापाको कन्काई नगरपालिका ८ लक्ष्मीपुरका ४३ बर्षीय संजय भन्ने खगेन्द्र खरेल रहेका छन् । यस्तै, इटहरी २ की ३२ बर्षीय आशा ठकुरी भन्ने लक्ष्मीदेवी थापा (ठकुरी), उनका छोरा २० बर्षीय रविन थापा र लमजुङको ढोडेनी गाउँपािलका ७ स्थायी घर भएका २३ बर्षीय शेरजंग गुरुङ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई सुनसरी जिल्ला अदालतबाट बम बिष्फोटन र संगठित अपराध मुद्दामा म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न अन्याको पनि प्रहरीले खोजी गरिरहेको छ । 

यही चैत १४ गते इटहरी २ स्थित अमिर श्रेष्ठको घरमा डेरा गरि बसेका लक्ष्मी थापाको कोठामा बम बिष्फोट भएको थियो । उक्त बिष्फोटमा कोठामा क्षति पुगेको थियो भने लक्ष्मीका छोरा रविन र शेरजंग घाइते भएका थिए । उनीहरुलाई तत्काल उपचारको लागि पठाइएको थियो । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा भएको बिष्फोटको घटनाले सुरक्षा निकायलाई चुनौती खडा गरेको थियो । 

उक्त घटनाको अनुसन्धानमा १ नम्बर प्रदेश प्रहरी कार्याल्य विारटनगरको आरआइटी, संघीय प्रहरी इकाई कार्यालय धरानको अनुसन्धान टोली, जिल्ला प्रहरी कार्यालयबाटसमेत गरि प्रहरी टोली परिचालित भएको थियो । प्रहरीले घटना पछि फरार रहेकी लक्ष्मीदेवीलाई हिजो बिहिबार लुकीछिपी बसेको अवस्थामा इटहरी २ बाट नै पक्राउ गरेको थियो । उनको छोरा रविनलाई पनि उपचार पश्चात बिहिबार नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको मुख्य योजनाकार खगेन्द्र खरेललाई पनि बिहिबार नै काकडभिट्टाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो भने उपचार पश्चात शेरजंगलाई आज (शुक्रबार) नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लक्ष्मीदेवीको कोठाबाट बैंकको चेक बुक १ थान, राष्ट्रिय स्वाधिनताको लडाईमा जनताको असल साथी राजा सि.एफ.एन. कफन स्थापना २०७० अवधारणा लेखिएको पहेलो रंगको सानो पर्चा ३३ थान, ठुलो पर्चा १० थान, सेतो रंगको पर्चा ५ थान र रातो रंगको पर्चा ५५ थान पनि वरामद भएको थियो । यस्तै, हिमाल सुरक्षा परिषद नेपालको पर्चा, कफन लेखिएको अर्धकट्टी सदस्यता कार्ड २८ थानलगायत वरामद भएको प्रहरीले जनाएको छ । 

को हुन् मुख्य योजनाकार खरेल ?

प्रहरीका अनुसार मुख्य योजनाकार खगेन्द्र खरेल हिमाल सुरक्षा परिषद नेपालको केन्द्रीय अध्यक्ष हुन् । उनी यसअघि २०७६ सालमा पक्राउ परेका थिए । प्रहरीका अनुसार २०७६ बैशाख २८ गते झापाको कन्काई पुलमा समेत गोर्खा जनमुक्ति पार्टीको नाममा ग्रेटर नेपालको माग राखेर बिष्फोटक पदार्थ तथा संगठित अपराध कसुरमा २ बर्ष ५ महिना कैद सजाय भुक्तान गरि झापा जिल्ला कारागारबाट उनी छुटेका व्यक्ति पनि हुन् ।

यसअघि माघ ९ गते विर्तामोडस्थित पश्चिम बस स्टेण्डमा र माघ १३ गते झापाको दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषदको पर्चाहरुसहित प्रेसर कुकर बम राखेर आंतक सृर्जना गरेको घटनाको पनि मुख्य योजनाकार हुन् । उनको साथबाट मोवाइल, सिम कार्डसँगै विभिन्न बैंकको चेकबुक, रकम पठाएको र जम्मा गरेको आइएमई रसिद ४ थान, हिमाल सुरक्षा परिषद नेपाल केन्द्रीय कमिटीको छाप, अर्जुन लेखिएको छाप, इञ्चार्ज केन्द्रीय कमिटी हिमाल सुरक्षा परिषद, अध्यक्ष केन्द्रीय कमिटी हिमाल सुरक्षा परिषद नेपाल लेखिएको छाप पनि प्रहरीले वरामद गरेको छ ।