धरान: धरानमा आज दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । 

दिउँसो करिब सवा १ बजे भानुचोकबाट दक्षिणतर्फ जादै गरेको को १ ख ७८४८ नम्बरको बस र धनकुटे रोड हुदै आएको बा ७२ प ९८६ नम्बरको मोटरसाइकल एकाअपसमा जुधेको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक धरान ११ का २५ बर्षीय मोहन राई गम्भीर घाइते भएको धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकल चालक धनकुटे रोड हुदै आएर पुरानो ट्राफिक चोक (हाल बोनस मल) बाट भानुचोकतर्फ जान उत्तर मोडिएका थिए । सोही समयमा भानुचोकबाट दक्षिणतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ । बस र मोटरसाइकल ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ भने बस चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।