विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ती गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सोही बैठकले यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई सरकारको प्रवक्ता तोक्ने पनि निर्णय गरेको छ । नवनियुक्त प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेका अनुसार बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षलगायत सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरेको छ । 

बैठकले पाँचथरका डा. पूर्ण लोक्सोमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । आयोगका अन्य सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की (संखुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अञ्जु खड्का (मोरङ)लाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री घिमिरेले बताए ।

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिवलाई हटाउने निर्णय गरेको छ । 

बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं मन्त्री घिमिरेले जानकारी दिए ।