धरान: धरानको वडा नं ३ का वडाअध्यक्ष आशाकुमार श्रेष्ठ पक्राउ परेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन सम्बन्धी कार्यक्रम भइरहदा मदिरा पिएर गएका वडाअध्यक्ष श्रेष्ठले जथाभावी गालीगलौज गर्ने र बिथल्न खोजेपछि पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर राखेको छ । वडाअध्यक्ष श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निवार्चित भएका जनप्रतिनिधि हुन् । 

डिएसपी बुद्ध श्रेष्ठले मादक पदार्थ सेवन गरेर राप्रपाको कार्यक्रम बिथोल्न खोजेको जानकारी आएको र प्रहरीले नियन्त्रणमा लिएको बताए । उनले भने, ‘वडाअध्यक्षलाई पक्राउ गरेर राखिएको छ । मापसे चेक गरिसकेका छौ । जनप्रतिनिधि पनि हो, उहाँको अवस्था हेरेर के गर्ने निर्णय गछुँ ।’ आफु धरान बाहिर भएकोले तत्काल के गर्ने भन्न नसकिएको उनले बताए । कार्यालय आइसके पछि अवस्था बुझेर मात्र थप भन्न सक्ने डिएसपी श्रेष्ठले बताए । 

के भन्छन्, राप्रपा नेता ?

राप्रपा नेता जुद्ध लोहनीका अनुसार दिउँसो वडा नं ३ को उम्मेदवार घोषणा र समिति गठनको कार्यक्रम हुदै थियो । सरस्वती आश्रमदेखि केही तल एक घरको खुला आँगनमा कार्यक्रम भइरहदा वडाअध्यक्ष श्रेष्ठ आएर जथाभावी बोल्न थालेका थिए । 

‘कोठामा कार्यक्रम गर्दा मान्छे धेरै भएर अटिएन, र बाहिर गर्दै थियौ । उहाँ आएर शुरुमा उभिनु भयो, र यहाँ कस्ले जित्छ, झण्डामा गाई राख्ने, हलतो कता राख्ने भन्न थाल्नु भयो,’लोहनीले भने, ‘शुरुमा वास्ता गरेनौ । तर केही छिनमा सिधै आएर स्टेजमा मान्छे हटाएर बस्नु भयो । हाम्रो कार्यक्रम सकिएको थिएन, तपाई आउनु भयो भन्दा तथानाम गालीगलौज गर्न थाल्नु भयो । मदिरा पिएर आएको रहेछ, कार्यक्रम गर्न दिनुस् भन्दा धकेलेर उफ्रिन थाल्यो । केही उपाय नभएपछि प्रहरीलाई फोन गर्यौ ।’

राप्रपा सुनसरी १ क का अध्यक्ष रहेका लोहनीले जनप्रतिनिधि नशाको सुरमा गरेको व्यवहार लज्जास्पद भएको प्रतिक्रिया दिए । उनले भने, 'साह्रै लज्जास्पद घटना भयो । जनप्रतिनिधिबाट भएको यो घटना भन्न पनि लाज लाग्छ ।'  अध्यक्ष लोहनीले वडाअध्यक्ष श्रेष्ठले माफी मागे पनि वा नमागे पनि पार्टीको तर्फबाट उनीविरुद्ध निवेदन नदिने बताए । एमालेको नेताहरुले सम्पर्क गर्दा पनि यही कुरा भनेको उनले बताए । ‘सरी भने पनि नभने पनि हामी निवेदन दिदैनौ, तर राजनीतिक पार्टी सबैले कार्यक्रम गर्न पाउनुपर्छ ।’उनले भने ।