धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धनको गृहकार्य भइरहे पनि धरानमा नेपाली कांग्रेसबाट विभिन्न ६ वटा वडामा वडाअध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिश भएको छ ।

गठबन्धनको दलहरुबीचमा धरानको कुन वडा कुन दलले पाउने भन्ने सहमति जुटि नसके पनि कांग्रेसले ६ वटा वडामा अध्यक्षको उम्मेद्वार सर्वसम्मत सिफारिश गरेको हो । कांग्रेसका नगर सभापति श्याम पोखरेलका अनुसार धरानको सबै वडाबाट उम्मेद्वारका आकांक्षीहरुको सिफारिश भइसकेको छ । ती मध्ये ६ वटा वडाबाट सर्वसम्मत वडाअध्यक्षको उम्मेद्वार सिफारिश भएको उनले जानकारी दिए ।

सभापति पोखरेलका अनुसार वडा नं २ बाट सुधिरसिंह लिम्बुलाई वडाअध्यक्षमा उम्मेद्वार बनाउन सर्वसम्मत सिफारिश भएको छ । यस्तै, वडा नं ३ मा विद्या शाक्यको नाम वडाअध्यक्षमा सर्वसम्मत सिफारिश भएको छ भने वडा नं ५ मा सन्तोष लिम्बु, वडा नं ९ मा रुपेश आचार्य, वडा १३ मा पेम्बा तामाङ र वडा नं १८ मा नरेन्द्रकुमार राई (प्रविण) वडाअध्यक्षको उम्मेद्वारको लागि सर्वसम्मत सिफारिश भएका छन् । यी मध्ये वडा नं ५ का लिम्बु र वडा नं १८ का राई २०७४ को निर्वाचनमा विजयी भएका वहालवाला वडाअध्यक्ष हुन् । 

सभापति पोखरेलका अनुसार धरानका अन्य वडाहरुबाट पनि उम्मेद्वारका आकांक्षीहरु सिफारिश भएका छन् । ती मध्ये सबैभन्दा धेरै वडा नं १ मा वडाअध्यक्षका आकांक्षी सिफारिश भएको पनि उनले बताए । उक्त वडामा २३ जना वडाअध्यक्षको उम्मेद्वारका आकांक्षीहरु भएको पोखरेलले जानकारी दिए । ‘गठबन्धनको कुराले गर्दा अलमल भएको हो । अहिलेको अवस्थामा हामी एक्लै लड्दा पनि जित्छौ । गठबन्धन हुँदा झन् वलियो हुन्छौ,’उनले भने ।