धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले बैशाख ३० गतेको निर्वाचनको लागि मेयर र उपमेयरका आकांक्षीहरुको नाम सिफारिश गरेको छ ।
आज नगर कार्यसम्पादन समितिको बैठक बसेर मेयरमा ९ जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय गरेको हो भने उपमेयरमा १० जना आकांक्षीहरुको नाम सिफारिश गर्ने निर्णय भएको कांग्रेस धरानका सभापति श्याम पोखरेलले जानकारी दिए । मेयरमा सिफारिश भएकाहरुमा २ जना महिला नेतृ छिन् भने एक जना दलित समुदायका नेता पनि मेयरमा सिफारिश भएका छन् । मेयर र उपमेयरको सिफारिश भएपनि धरानमा चुनावी गठबन्धन हुँदा कांग्रेसले मेयर मात्र पाउने सम्भावना छ । उपमेयर भने गठबन्धनकै दल नेकपा माओवादी केन्द्रले पाउने लगभग सहमति भइसकेको छ ।
सभापति पोखरेलका अनुसार धरानका वहालवाला मेयर तिलक राई, कांग्रेस प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङ, कांग्रसको महासमिति सदस्य पर्वत राई, धरानका पुर्वनगरसभापति तथा हाल जिल्ला सदस्य किसोर राई, महासमिति सदस्य श्यामा रेग्मी, कांग्रेस सुनसरी क्षेत्र १ (२) का सदस्य अजय राई, कांग्रेसको भातृ संस्था दलित संघका प्रदेश १ सभापति गोविन्द्र दर्नाल र महिला नेतृ एवं पुर्वमहाधिवेशन प्रतिनिधि मिना पुलामीको नाम सिफारिश भएका छन् ।
यसैगरि, उपमेयरमा सिफारिश भएकामध्ये ९ जना महिला नेतृ र एक जना पुरुष छन् । उपमेयरमा उर्मिला प्रधान, शिला ब्रजर्चाय, निलकुमारी थापा गिरी, कुसुम ओली आचार्य, निर्मला शाक्य, मनिता घिमिरे, हिमाल राई, झुमा राई, सन्तोष बिक र कोपिला भट्टराई सिफारिश भएको नगर सभापति पोखरेलले जानकारी दिए । उनका अनुसार मेयर र उपमेयरमा सिफारिश भएको नामहरु जिल्ला कार्यसमितिलाई पठाइएको छ भने सुनसरी क्षेत्र नं १ समितिसँगै प्रदेशसभा १ र २ कार्यसमितिलाई पनि जानकारी दिइएको छ ।
नगर सभापति पोखरेलले भने, ‘नगर कार्यसम्पादन समितिको बैठक बसेर सबैको राय, सल्लाह अनुसार निर्णय भएको हो । सिफारिशमा परेका जो सुकै नेताले उम्मेदवारी लिएर आएपनि इमान्दारपुर्वक जिताउन लाग्ने बैठकले निर्णय गरेको छ ।’