बिराटनगर: खोटाङ र मोरङको छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

हिजो शुक्रबार बेलुका पौने पाँच बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ खोटाङका ३६ बर्षीय भिम बहादुर बिकको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय रुपेश बजिमय र अर्जुन केसीको घरमा काठको काम गरिरहेको अवस्थामा विकलाई अचानक करेन्ट लागेर घाईते भएका थिए । घाईते बिकलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल खोटाङ लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, शुक्रबार नै राती पौने ७ बजे मोरङको केराबारी गाउँपालिका ८ स्थित महादेव क्रसरका कामदार स्थानीय २३ बर्षीय टंक लिम्वुको पनि करेन्ट लागेर मृत्यु भएको छ । उनलाई क्रसरमा रहेको इनारबाट मोटरले पानी तान्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए । तत्काल उपचारको लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिए पनि अस्पताल पुर्‍याउना साथ लिम्वुको मृत्यु भएको चिकित्सकले बताएका थिए । दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।