मोरङ: मोरङको बिराटनगर महानगरपालिका ६ बाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बिराटनगर ८ का २२ बर्षीय मोहमद जुमन, बिराटनगर ११ का ३४ बर्षीय मोहमद अन्सारुल र बिराटनगर १२ का २२ बर्षीय पवन रविदास रहेका छन् । उनीहरुलाई हिजो शुक्रबार बिहान वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर ६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्रीसहित पक्राउ गरेको हो । 

उनीहरुले चोरी गरी को २ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा सामानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानको क्रममा वि.न. १ ह ००९३ नम्वर र को. १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत उनिहरुले चोरी गरेको खुलेको छ । चोरी गरेको उक्त दुई सिटी सफारी समेत बरामद गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।