सुनसरीः इटहरीमा क्लिनिक सञ्चालन गरेर इजाजत विना पाईल्स फिसर फिस्टुलाको उपचार गर्ने एक नक्कली चिकित्सक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका ४ शिविर टोलस्थित ताराकुमार खनालको घरबाट भारत पश्चिम वंगालका २८ बर्षीय सुजित राय पक्राउ परेका हुन् । उनले करिब २ महिना अघि खनालको घरमा डेरा लिएर सार्थक उपचार क्लिनिक सञ्चालन गरेका थिए । उनले विना ईजाजत पाईल्स फिसर फिस्टुलाको उपचार गर्ने र औषधीसमेत बिक्री गर्दै आइरहेको प्रहरीले जनाएको छ । 

उनलाई ईलाका प्रहरी कार्यालय इटहरी र औषधी व्यवस्था विभाग कार्यालय विराटनगरको संयुक्त टोलीले रायलाई क्लिनिकबाट नै पक्राउ गरेको हो । क्लिनिकबाट विभिन्न कम्पनीको औषधीहरु पनि वरामद भएको प्रहरीले जनाएको छ । रायलाई आज (सोमबार) जिल्ला अदालतबाट ईलाज सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।