धरान: राष्ट्रिय जनमुक्ति पार्टीले बैशाख ३० गतेको स्थानीय तह निर्वाचन लक्षित धरानको घोषणा पत्र सार्वजनिक गरेको छ ।
धरान १२ स्थित होटल पुर्वी स्टारमा बुधबार पत्रकार सम्मेलन गर्दै जनमुक्ति पार्टीले घोषणा पत्र सार्वजनिक गरेको हो । पार्टीले स्थानीय तह निर्वाचन २०७९ को लागि घोषणा पत्र सार्वजनिक गरेको हो भने धरानको लागि ११ बुँदे छुट्टै घोषणा पत्र पनि सार्वजनिक गरेको छ । जनमुक्ति पार्टीले धरानको मेयरमा राजेश खिम्दुङ र उपमेयरमा संगीता श्रेष्ठलाई उम्मेद्वार बनाएको छ ।
पार्टीले धराने जनता र नगरपालिकाको लगानीमा कोशीबाट पानी ल्याउने घोषणा गरेको छ । यसको लागि १ अर्ब २० करोडभित्र काम हुने र दैनिक ६ करोड लिटर पानी उत्पादन गर्ने पनि जनमुक्तिले जनाएको छ । यस्तै, कर ५० प्रतिशतदेखि ९० प्रतिशत घटाउने, सहकारीहरुले जनताको धेरै पैसा ठगेको हुनाले कानुनी दायरामा ल्याएर गरिब, दुःखीको पैसा फिर्ता गर्ने पनि जनमुक्तिको घोषणा पत्रमा उल्लेख छ ।
विकासको नाममा ढल र बाटो बनाउदा जनतासँग एक रुपैया पनि पैसा उठाउन नपाउने नियम बनाउने, पानीको बिल प्रतियुनिट २० रुपैया कायम गर्ने, धेरै बिल आउनेको मिटर निःशुल्क परिवर्तन गर्ने पनि जनमुक्तिको घोषणा पत्रमा उल्लेख छ । यसैगरि, घरनक्सा बनाउदा ५० प्रतिशत कर घटाउने, घर बनाउने मापदण्ड कम गर्ने र घर नक्सा २ महिनाभित्र तयार पार्ने पनि घोषणा गरेको छ ।
जनमुक्तिले सफारी र टेम्पोलाई नगरपालिकाले कुनै कर नलिने पनि जनाएको छ । यस्तै, विज्ञहरुको सल्लाह सुझाव र अनुसन्धानमा उद्योगधन्दा खोलेर हजारौलाई रोजगारी दिने र धरानमा लागुऔषध, दादागिरी, गुण्डागर्दीको अन्त्य गर्ने पनि घोषणा पत्रमा उल्लेख छ ।
एमाले र सत्ता गठबन्धन दुवै एउटै
जनमुक्ति पार्टीको केन्द्रीय अध्यक्ष केपी पालुङवाले एमाले र सत्ता गठबन्धन दुवै एकै चरित्रको भएको आरोप लगाएका छन् । सत्ता गठबन्धन सरकारमा बसेर ढलिमलि गर्न बनेकोले पनि खबरदारी गर्न स्थानिय तहको निर्वाचनमा छुट्टै उम्मेदवारी दिएको पालुङवाले बताए । ‘गठबन्धनमा हामीलाई पनि सामेल हुन आग्रह गरिएको थियो, तर केही उपलव्धिहरु बाहेक संविधान पूनर्लेखनको मागसँग मेल नखाने भएकाले राष्ट्रिय जनमुक्ति पार्टी एक्लै चुनावमा होमिएको हो,’पालुङवाले भने । जनमुक्ति पार्टी जनसंख्याको आधारमा पुर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्ने पहिलो पहिचानवादी पार्टी भएको पनि पालुङवाले बताए ।
जनमुक्तिको घोषणापत्रमा ‘पालिकाभित्र बोलिने मातृभाषामा शिक्षा र सरकारी कामकाजको भाषा बनाउने अधिकारलाई प्रोत्साहन र संरक्षण, मातृभाषाका सञ्चार र मातृभाषालाई प्रोत्साहित गर्न बालबालिकालाई ‘मातृभाषा प्रोत्साहन भत्ता’को व्यवस्था गरिने गरिने उल्लेख छ । केन्द्रिय अध्यक्ष पालुङवाले पार्टीले २०७४ सालको चुनावमा विजयी गाउँपालिकामा यो प्रतिबद्धता पुरा गरेको पनि बताए । उनका अनुसार जनमुक्ति विजयी भएको इलामको माङसेबुङ नगरपालिका वडा ५ मा मातृभाषा लिम्बुलाई वडा कार्यालयको कामकाजी भाषा बनाइएको छ । त्यहाँका ७० प्रतिशत स्थानियबासी लिम्बु भाषी छन् ।
केन्द्रीय अध्यक्ष पालुङवाका अनुसार वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पार्टीले धरान सहित प्रदेश १ झापाको भद्रपुर देखी सुदुर पश्चिम प्रदेश कञ्चनपुरको चाँदनी दोधारा सम्मका नगरपालिका, गाउँपालिकामा उम्मेदवारी दिएको छ । जनमुक्तीले २०० सय स्थानिय तहमा उम्मेदवारी दिएको जनाएको छ ।