धरान: नेपाली समाजमा ज्वाँई-जेठानको सम्बन्ध अत्यन्तै सम्मानजनक र सुमधुर हुन्छ । एकले अर्कालाई मान सम्मान गर्नुपर्ने सम्बन्ध हो, ज्वाँई-जेठान । 

राजनीति एकले अर्कालाई हराउनुपर्ने खेल हो । अझ चुनावको बेला एउटा पार्टीले अर्को पार्टी, एक उम्मेद्वारले अर्को उम्मेद्वारलाई अनेक कुप्रचार गर्दै, प्रोपोगण्डा गर्दै वद्नाम गर्ने र आफु जित्ने झेली खेल हो । यी ठिक विपरीत ध्रुव राजनीति र ज्वाँई-जेठान सम्बन्धको रोचक भिडन्त धरानको वडा नं ६ मा देख्न पाइन्छ । तर, यहाँ राजनीतिको झेली खेल भने यहाँ देखिदैन ।

यही बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुदैछ । धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सिमित छैन । यहाँ गठबन्धन र एमालेका उम्मेद्वार ज्वाई–जेठानबीच पनि रोचक भिडन्त हुदैछ ।

वडा नं ६ मा एमालेबाट वडाअध्यक्षका उम्मेद्वार छन्, ३९ बर्षीय हरिबहादुर राई । उनका प्रतिस्पर्धी छन्, गठबन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार ३६ बर्षीय कृष्णकुमार राई (भुपाल) । गठबन्धनका उम्मेद्वार कृष्ण एमालेका उम्मेद्वार हरिका आफ्नै कान्छी बहिनी लक्ष्मीका श्रीमान् अर्थात कान्छा ज्वाँई हुन् । 

निर्वाचनको बेला अलग अलग पार्टीका नेता, कार्यकर्ताहरुबीच आरोप प्रत्यारोप, घोचपेच र बोलचाल नै पनि बन्द हुने गर्छ । कतिपय ठाउँमा झगडा नै पनि पर्छ । यहाँ त झन् प्रमुख प्रतिस्पर्धी दलबाटै ज्वाई र जेठान चुनावी मैदानमा छन् । तरपनि उनीहरुबीच सम्बन्धमा कुनै कटुता आएको छैन । दुवै जनाको कुरामा समानता छ, ‘हामी व्यक्तिगत लडाईमा छैनौ, समाज बनाउने र वडाको समग्र विकास गर्ने प्रतिस्पर्धामा छौ । त्यसैले व्यक्तिगत गालीगलौचमा उत्रदैनौं ।’

juwai-jethan1

अर्को रोचकता के पनि छ भने यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनीहरु वडा सदस्य पदमा एमाले र कांग्रेसबाट उठेका थिए । त्यसबेला एमालेको प्यानलै विजयी भएको थियो । उक्त जित हारले पनि दुवैको पारिवारिक सम्बन्धमा दरार आएन । जेठान हरि भन्छन्,‘राजनीति समाजलाई राम्रो बनाउन, विकास गर्नको लागि गर्ने हो । मैले ५ बर्षमा के गरे, त्यो मतदातालाई भन्ने हो । गालीगलौज गर्नुपदैन, र त्यो खालको राजनीति गर्नुपनि हुन्न । त्यसैले हामीमा कुनै समस्या छैन ।’

उनले आफु ५ बर्ष वडा सदस्यकोरुपमा गरेको कामको मुल्यांकन गरेर पार्टीले वडाअध्यक्षको टिकट दिएको र मतदाताहरुले पनि त्यसरी नै मुल्यांकन गरेर मत दिने दाबी गरे । आफन्तजनहरुले पनि स्वविवेक प्रयोग गरेर मतदान गर्ने उनको भनाई छ । 

गठबन्धनका उम्मेद्वार कृष्णलाई भने टिकट दिने बेला पार्टीले ज्वाँई जेठानको सम्बन्ध देखाएर प्रश्न गरेको थियो । तर, उनले नाता सम्बन्ध भएपनि राजनीतिक विचार, आस्था अलग अलग भएकोले कुनै समस्या नहुने भनेर नेताहरुलाई बुझाए पछि टिकट पाएका थिए । ‘जेठानलाई मात्र होइन, कुनै पनि पार्टीको उम्मेद्वारलाई जथाभावी गाली किन गर्ने ? तर मैले उहाँको कार्यकाललाई प्रश्न गरेको छुँ, कि ५ बर्षको बजेट कता कता गयो भनेर,’उनले भने,‘एजेण्डामा प्रश्न गर्ने हो । पाँच बर्षमा खानेपानी समस्या किन हल भएन भनेर सोधेको छुँ ।’

आफन्तजनहरुले दुवै जना एउटै पदमा उम्मेद्वार भएर अफ्ठेरो भएको भन्ने गरेको पनि गठबन्धनका उम्मेद्वार कृष्णले बताए । त्यसबेला जेठानको ५ बर्ष कार्यकाल मुल्यांकन गर्न आफुले आग्रह गर्ने गरेको उनले बताए । ‘अफ्ठेरो भयो भन्नुहुन्छ, म उहाँहरुलाई जेठानले एक कार्यकाल काम गर्नुभयो, त्यो मुल्यांकन गर्नुस् भन्छु । मैले जनप्रतिनिधि नहुँदा पनि के गरेको छुँ, त्यो पनि मुल्यांकन गरेर भोट दिनुस् भन्छुँ,’उनले भने ।

यस्तो छ चुनावी एजेण्डा

वडाअध्यक्षको चुनावी मैदानमा होमिएका ज्वाँई र जेठानको चुनावी एजेण्डा अधिकांश समान छन् । दुवैले वडालाई लागुऔषध दुव्र्यसन मुक्त बनाउने र युवाहरुलाई रोजगारीमुलक सिप सिकाउने, खानेपानीको दीगो व्यवस्थापन गर्ने एजेण्डालाई प्राथमिकताका दिएका छन् ।

एमालेका उम्मेद्वार हरि युवा पुस्तालाई दुव्र्यसनमुक्त गरेर सही बाटोमा हिडाउन योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने बताउँछन् । बालबालिका र किसोरहरुलाई कुलतमा फस्न नदिन टोल टोलमा मिनि बाल क्लब बनाउेन र विदाको दिन पनि बाल क्लब जाउँ भन्ने वातावरण तयार गर्ने उनले बताए । ‘५ बर्षपछि युवा हुन्छन् । उनीहरुलाई सिप दिन्छौं, र युवाहरु रोजगारमुखी हुन्छन्,’उनले भने,‘भौतिक पुर्वाधार विकास, खानेपानीको सहज व्यवस्थापन, अर्गानिक कृषि उपजलाई प्राथमिकतालगायत एजेण्डा छन् ।’

juwai-jethan2

गठबन्धनका उम्मेद्वार कृष्ण पनि आफ्नो पहिलो प्रथामिकता वडामा माग वमोजिमको खानेपानी आपूर्ति र वितरण रहेको बताउँछन् । पछिल्लो समय लागुऔषध दुव्र्यसनको समस्या बढीरहेको भन्दै उनले युवाहरुलाई कुलतबाट जोगाउन बिशेष योजना बनाउने बताए । पुर्व फुटबल खेलाडीसमेत रहेका उनले खेलकुदको विकासमा प्राथमिकता दिदै युवाहरुलाई विभिन्न खेलमार्फत सही बाटोमा हिड्न प्रेरित गर्ने पनि बताए । ‘डिप बोरिङ गरेर पानीको आपूर्ति बढाउनेछुँ । खेलकुदको पुर्वाधार विकास र व्यवसायिक खेलाडी उत्पादन गरेर युवाहरुलाई कुलतबाट जोगाउन पहल गर्नेछुँ,’उनले भने,‘शिक्षाको पुर्वाधार र गुणस्तर विकासमा ध्यान दिनेछुँ । सुकुम्बासीहरुलाई सुरक्षित बास र सेवा, सुविधा पुर्याउनेछुँ ।’ स्रोत: नागरिक