भोजपुरः भोजपुरको षडानन्द नगरपालिका १४ बिहिबारे बजारमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । आगोमा परेर मृतक बालिकाको बुवा र आमा जलेर घाइते भएका छन् । 

हिजो बिहिबार बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको र टिनको छानो भएको २ तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर पुर्णरुपमा जलेर नष्ट भएको थियो भने २ बर्षीया छोरी रेश्मा तामाङको आगोले जलेर घटनस्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घरधनी खेममणी, उनको श्रीमती मिनालाई पनि आगोले पोलेर घाईते भएका छन् । दुवैको धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानीयको सहयोगमा राती साढे २ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट खेममणी तामाङ र अर्जुन तामाङसमेतको २ वटा घर, घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जलेर नष्ट भएको छ । उक्त घटनामा करिब २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको प्रहरीले जनाएको छ।