धरान: धरानको नेतृत्व लिन चुनावी दौडमा रहेको लोकतान्त्रिक बाम गठबन्धनले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
धरानमा गठबन्धनमा रहेको दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राई र उपमेयरका उम्मेद्वार अइन्द्रबिक्रम बेघासहित कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका नेताहरुले संयुक्तहरुपमा प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
गठबन्धनको प्रतिवद्धतामा दीर्घकालिन योजनामा धरानलाई महानगर बनाउन पहल गर्ने, राज्यको सबै सेवा तथा सुविधा जनतालाई सम्भव भएसम्म वडा तहसम्मै उपलब्ध गराइने उल्लेख छ । धरानका ठुला विकासका आयोजनाहरुलाई नगर गौरवको आयोजनाको रुपमा घोषणा गर्ने, यसका लागि आवश्यक बजेट तथा प्राविधिक सहयोग विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दातृ निकायहरुको सहयोग जुटाइने उल्लेख छ ।
यस्तै, धरानलाई भाषिक साँस्कृतिक शहरकोरुपमा विकास गर्ने, भ्रष्टचाररहित नगरकोरुपमा विकास गर्ने, मिडिया तथा आइटीको १ नम्बर प्रदेशको हबकोरुपमा विकास गर्ने प्रतिवद्धतामा उल्लेख छ भने शैक्षिक, स्वास्थ्य, खेलकुद, पर्यटन एवं आवासीय शहरकोरुपमा विकास गर्ने पनि गठबन्धनको योजनामा समावेश छ ।
यस्तै, संघीय तथा प्रदेश सरकार, छिमेकी नगरपालिकाहरुसँग समन्वय गरि जोगवनी, विराटनगर, धरान, किमाथांका सडक छिटो सम्पन्न गर्न पहल गर्ने, धरान मुलघाट, तमोर करिडोर हुदै ओलाङचुङगोला सडक सम्पन्न गर्न पहल गर्ने र धरान लेउती सुरुङमार्ग निर्माणको लागि पहल गर्ने पनि योजनामा समावेश छ ।
भौतिक पुर्वाधार विकासतर्फ धरान विमानस्थल स्वीकृति प्राप्त भइसकेको र यसको लागि उचित व्यवस्थापन गरि तत्काल निर्माण कार्य अघि बढाउन पहल गर्ने प्रतिवद्धतामा उल्लेख छ । यस्तै, सर्दु तथा सेउती खोलामा तटबन्धन बनाएर वैकल्पिक सडक निर्माण गर्ने, नगरभित्र रहेका सेहरा, अँधेरी, कोकाहा, पखेरा, सनीबोटे, बसन्त खोला, पटनाली लगायत सानातिना खहरे खोलाहरुमा विकास गर्ने पनि उल्लेख छ ।
भित्रि रिंगरोड
गठबनधनले तिनकुने सप्तरंगी पार्क, सर्दुखोला किनार, फुसे्र, सारंगा डाँडा, शिवधारा सेउती, वसन्तटार, देउराली वा सेउती किनार हुदै महादेव चोक तीनकुनेसम्म लामो भित्री चक्रपथ निर्माण गर्ने पनि जनाएको छ । यस्र्तै, तीनकुने पटनाली, भालुढुंगा, विष्णुपादुका, चिण्डेडाँडा, तामाखाम, फुस्रे, सारंगा डाँडा, शिवधारा, बसन्तटार, पत्राङ्बारी, निसान डाँ८ा, मनुवाटार वा शिवजट्टा, दानाबारी, हर्दिया, मनुवाटार, ठिंगाबारी, चोक्टी, तीनकुने जोड्ने बाहिरी चक्रपथ पनि निर्माण गर्ने उल्लेख छ ।
बसपार्क तथा पार्किङस्थल
धरान ८ मा निर्माणाधिन रहेको आधुनिक बसपार्कलाई छिटो सम्पन्न गरि सञ्चालनमा ल्याउने गठबन्धनले जनाएको छ भने भविष्यमा हुने आवश्यकतालाई ध्यान दिएर सप्तरंगी क्षेत्रमा वृहत होल्डिङ क्षेत्र बनाउने पनि उल्लेख छ ।
पानमारा, देउराली, विष्णुपादुका, पत्रङ्बारी, भेडेटार, शिवधारा, दानाबारीलगायत ठाउँहरुमा व्यवस्थित बसपार्क तथा पार्किङ क्षेत्र बनाउने, धरानको ड्रेनको एकीकृत दीर्घकालिन मापदण्ड र योजना बनाइ लागु गर्ने, क्लोज ड्रेनको समेत निर्माण गर्ने गठबन्धनको प्रतिवद्धता पत्रमा उल्लेख छ । यस्तै, गठबन्धनले धरानमा ५ बर्षभित्र नयाँ नापी गर्ने र संयुक्त आवास परियोजनाहरु सञ्चालन गर्ने, सार्वजनिक जग्गाहरुको संरक्षण गर्ने पनि जनाएको छ ।
खानेपानी समस्याको दीर्घकालिन समाधान खोज्ने
गठबन्धनले धरानको मुख्य समस्या रहेको खानेपानी समस्याको दीर्घकालिनरुपमा समाधान गर्ने प्रतिवद्धता जनाएको छ । हाल खानेपानी व्यवस्थापनमा देखिएको प्राविधिक लगायत समस्याहरुलाई विज्ञहरुको सल्लाहबाट समाधान गर्ने र चतरा कोशी, तमोरलगायत स्रोतहरुको पहिचान गरि वैकल्पिक उपायहरुबाट दीर्घकालिन समस्या समाधान खोजिने गठबन्धनले जनाएको छ । खानेपानीको वितरण प्रणालीमा सुधार गर्ने र खानेपानी बोर्डलाई आधुनिकीकरण गरि डिजिटल प्रविधिमा लगिने प्रतिवद्धता जनाएको छ ।
यसैगरि, अपुर्ण रहेको खानेपानी आयोजनालाई पुर्णता दिई दिगो र भरपर्दोरुपमा आपूर्तिको व्यवस्था मिलाउन सरकारबाट थप बजेटको व्यवस्था गर्ने गठबन्धनको प्रतिवद्धता छ । बजेट आउन नसक्ने अवस्था भए नगरपालिका आफैले नागरिक सेयर निष्कासन गरेर आयोजनालाई सम्पन्न गर्ने, शेयरधनीलाई खानेपानी शुल्कमा बिशेष सहुलियत उपलब्ध गराउने पनि प्रतिवद्धता पत्रमा उल्लेख छ ।
धरानका सबै परिवालाई मासिक ५ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने र सबै घर परिवारमा खानेपानी धारा पुर्याउने गठबन्धनको प्रतिवद्धता रहेको छ । यस्तै, सर्दु जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने, गुरुयोजना बनाएर सिमांकन गर्ने, अन्य जलाधार क्षेत्रको संरक्षण तथा विकास गर्न गुरुयोजना बनाएर आवश्यक बजेट विनियोजन गर्ने पनि गठबन्धनको प्रतिवद्धता रहेको छ ।
उज्यालो धरान बनाउने
गठबन्धनले धरानलाई उज्यालो धरानकोरुपमा विकास गर्ने भएको छ । यसको लागि सबै सडकमा सौर्य बत्ती जडान गर्ने, विद्युत नपुगेको क्षेत्रहरुमा विजुली विस्तार गर्ने, विद्युतमा आत्मनिर्भर बन्ने योजना ल्याउने, कम उर्जामा धेरै कार्य गर्ने नीति ल्याउने तथा फोहोरबाट ग्याँस र बिजुली निकालेर उर्जाकोरुपमा प्रयोग गर्ने पनि गठबन्धनले जनाएको छ ।
यस्तै गठबन्धनले सामाजिक विकास, स्वास्थ्य तथा खाद्य सुरक्षा, आदिबासी जनजातिको विकास, कला साहित्य र सँस्कृति विकास, भूपू सैनि तथा सेनानी सम्बन्ध, सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन, युवा विकास तथा स्वरोजगार कार्यक्रम, महिला विकास, दलित समुदायको विकास, खेलकुद, मधेशी मुस्लिम एवं अल्पसंख्यक समुदायको विकास, पर्यटन तथा पुर्वाधार विकास, कृषि, सहकारीलगायतको पनि विभिन्न नीति तथा योजनाहरु प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।
प्रतिवद्धता पत्र: