इटहरी: नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले याम कुमार सुब्बा र संगीता चौधरीलाई जिताउन आग्रह गर्दै इटहरीको विकासको जिम्मा आफूले लिने बताएका छन् । 

इटहरीमा नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमाले उम्मेदवार याम कुमार सुब्बा र संगीता चौधरीलाई  जिताए इटहरीको बिकासमा वजेट र योजनाको कुनै खाँचो नहुने वताए । ‘भोट हाल्ने काम तपाईँहरूको, विजयी बनाउने काम तपाईँहरूको,’ अध्यक्ष ओलीले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, याम सुब्बा मेरो प्रतिनिधि हो, मलाई हटलाईनमा सोझै सम्पर्क गर्नु हुन्छ, सोझै संवाद गर्नुहुन्छ इटहरीको विकासको जिम्मा म लिन्छु ।’

आगामी प्रतिनिधिसभाको चुनावमा एमालेको बहुमत आउने र एमालेको सरकार बन्ने भएकाले इटहरीमा आफुले बजेट अभाव हुन् नदिने ओलीले बताए । अध्यक्ष ओलीले द्वारिकलाल चौधरी र लक्ष्मी गौतमको कार्यकालमा इटहरीमा भएको कामको प्रशंसा पनि गरे । उनीहरु अग्रमोर्चामा सरिक भएर एमाले उम्मेदवारहरुलाई जीताउन लागि परेको भन्दै धन्यवाद समेत दिए । 

इटहरीको विकासको वाँकी कामलाई अघि वढाउन,सुन्दर र आधुनिक विकसित नमूना नगर वनाउने कामको अविभारा याम संगीताको काधमा आउन लागेको बताए । उनले सूर्यध्वजावाहक उम्मेदवारलाई जीताउन इटहरीवासीलाई आग्रह गरे ।