धरान: गएको शनिबार आफ्नै छोराले बाम्फोक प्रहार गरी गम्भीर घाइते भएकी धरान १४ विजयपुरकी ४२ बर्षीया शान्ता सुवेदीको मृत्यु भएको छ ।

उपचारको क्रममा न्युरो अस्पताल विराटनगर रहेकी सुवेदीको उपचार सम्भव नभएपछि आज घर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो । दिउँसो करिब ३ बजेतिर सुवेदीको मृत्यु भएपछि उनको छोरा २५ बर्षीय सौगातलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको जनाएको छ । मृतक परिवार केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको क्वार्टरमा बस्दै आएका छन् । मृतकका श्रीमान् उक्त क्याम्पसका कर्मचारी हुन् ।

शनिबार दिउँसो १ बजे सौगातले आफ्नै आमालाई बाम्फोकले प्रहार गरेका थिए । उनी डिप्रेसनको विरामी भएको र औषधी सेवन गरिरहेको बताइएको छ । आमालाई बाम्फोकले प्रहार गरेपछि सौगातले आफ्नै घाँटी पनि रेटेर आत्महत्याको प्रयास गरेका थिए । तर उनको चोट गहिरो थिएन । आमा र छोरा दुवैलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको थियो । 

आकस्मिक कक्षमा उपचार हुन नसकेपछि आमा शान्तालाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको थियो । त्यहाँ पनि उनको उपचार सम्भव नभएको र घर फर्काउने क्रममा आज दिउँसो निधन भएको प्रहरीले जनाएको छ । आमाको मृत्यु पछि छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।