धरान: हिजो (बुधबार)देखि सुनसरीमा परेको अबिरल बर्षाले आधा दर्जन बढी स्थानीय तहमा क्षति पुगेको छ । ती मध्ये सबैभन्दा बढी भोक्राहा नगरसिंह गाउँपालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पछिल्लो जानकारी अनुसार भोक्राहा नगरसिंहको वडा नं ७ मा मात्रै अनुमानित १५० घर पुर्णरुपमा डुबानमा परेको छ । यस्तै, १८८ घर आंशिकरुपमा डुबानमा छन् भने ३ सय सामान्य अवस्थामा रहेको छ । यता, बराहक्षेत्र नगरापालि १ स्थित चतरा बराहक्षेत्र भित्रिसडक खण्डमा माथिबाट आएको पहिरोले १० मिटर सडक पुरिएको छ । अहिले उक्त सडक खण्ड अवरुद्ध भएको पनि जिल्ला प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार बर्जु गाउँपालिकामा ५ स्थित पण्डित टोलमा हिजो ६ परिवार, गुरुङ टोलमा आज ८ परिवार विस्थापित भएका छन् भने बर्जु ६ चिमडीमा ३० देखि ४० घर परिवार विस्थापित भएर १०० जना जति खाली जमिनमा पाल टाँगेर बस्न बाध्य भएका छन् । 

vokraha1

यसैगरि, इटहरीको वडा नं ८ घुर्कीमा बुधबार डुबान भएको थियो । उक्त ठाउँमा जेसिबि प्रयोग गरेर पानीलाई निकास दिएपनि पुनः डुबान हुनसक्ने खतरा रहेको प्रशासनले जनाएको छ । इटहरीकै वडा नं ५ स्थित सिमरवनामा आज बिहान सिकुमारी खोलामा आएको बाढीले रामवृक्ष चौधरीको २ तले घर कटान भएर भत्किएको थियो भने घरको सबै सामग्री बगाएर लगेको प्रशासनले जनाएको छ । 

दुहबी नगरपालिका ४ ढकिबुन्ना टोलमा बुढी खोलामा आएको बाढीले कटान गर्दा शोभा चौधरी र विकास विकको घर भत्किदा ९ जना विस्थापित भएका छन् । उनीहरुलाई उद्दार गरेर आधारभुत विद्यालयमा राखिएको छ । इनरुवामा ८ उराव टोलमा सुनसरी खोलामा आएको बाढीले २० घर डुबानमा परेको छ भने हरिनगर गाउँपालिका वडा ५ स्थित वसन्तपुरमा केही घर विस्थापित हुने अवस्थामा रहेको प्रशासनले जनाएको छ ।