विराटनगर: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुरक्षा अधिकारीको टोलीले बस्तीतर्फ पस्ने खतरा भएको मोरङको मावा, बक्राहा र चिसाङ खोलाको निरीक्षण गरेका छन् ।

मन्त्री कार्कीको नेतृत्वमा मोरङको खोलाहरुले कटान गरिरहेको क्षेत्रमा सरकारी अधिकारीसहितको टोली स्थलगत निरीक्षमा गएका हुन् । मन्त्री कार्कीले बर्खाकै बेला कटान क्षेत्रको निरीक्षण गर्दा नियन्त्रणमा योजना बनाउन सहज हुने भएकोले प्रत्यक्ष निरीक्षण गरेको बताए । स्थलगतरुपमा हेरेपछि सोहीअनुरुप नदीखोला नियन्त्रण गर्न तटबन्ध निर्माण तथा अरु उपायबारे सरकारलाई जानकारी गराउने पनि मन्त्री कार्कीले बताए । 

मन्त्री कार्कीसँगै मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालालगायतको टोली उर्लाबारी, पथरीशनिश्चरे, रंगेली पुगेर स्थानीय पालिकाका प्रमुख तथा जनप्रतिनिहरुसँग पनि कटान र यसको नियन्त्रणको उपायरबारे छलफल गरेको थियो । बक्राहा, मावा र चिसाङले पूर्वी र दक्षिणी क्षेत्रमा अधिक बस्ती डुबान गर्ने तथा खेतयोग्य जमिन कटान गर्ने गरेको छ ।  

Mantri-Karki-1

बाढी तथा कटानबाट भएको क्षति र उत्पन्न समस्याको विषयमा पीडित तथा प्रभावित बासिन्दसँग छलफल गरिंदा त्यहाँको खास समस्या र के गर्दा कटान नियन्त्रण गर्न सकिन्छ भन्ने थाहा हुने मन्त्री कार्कीले बताए । 'प्रदेशस्तरबाट हुने तटबन्धन निर्माणको काम यतैबाट र नहुने संघीय तथा स्थानीय सरकारसँगको समन्वयमा अघि बढाइने छ,'उनले भने । 

 कार्कीले प्रदेश सरकारले तत्काल राहत चाहिनेहरुलाई तत्कालै सहयोग गर्ने, कटान नियन्त्रणमा थालिहाल्नु पर्ने काम शुरु गर्ने र दीर्घकालिन रुपमा समस्या समाधान गर्न नयाँ खाका बनाउने बताए । अविरल वर्षासँगै आएको बाढीले मोरङका खोलाहरुमा आएको बाढीले ठूलो आर्थिक नोक्सानी गरेको छ । प्रदेश राजधानी विराटनगर हरेक वर्ष जस्तै योपटक पनि डुबानको चपेटामा परेको छ । 

विराटनगरमा हरेक वर्ष सिंघीया र केशलिया खोलाले दुःख दिने गरेको छ । यसको नियन्त्रणका लागि तटबन्धसहितको करिडोर निर्माणको लागि प्रदेश सरकारले योजना बनाईरहेको आन्तरिक मामिला मन्त्री कार्कीले बताए । प्रदेश सरकारले दुबै खोलाको दुबैतर्फ स्थायी तटबन्धन निर्माण गर्ने र यसलाई ग्रीनबेल्टको रुपमा सिमावर्ती भारतीय क्षेत्रसम्मै विकास गर्ने योजना बनाएको पनि उनले बताए । विस्तृत अध्ययनपछि सरकार आफैले अथवा दाता निकायसँगको सहयोगमा यो काम अघि बढाइने पनि उनले बताए ।