धरान: डिपो आदर्श बहुमुखी क्याम्पसले प्रदेश १ स्तरीय मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कप २०७९’ आयोजना गर्ने भएको छ ।

डिपो विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्वर्गीय लिम्बुको स्मृतिमा साउन १५ गतेदेखि १९ गतेसम्म प्रतियोगिता हुने भएको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता धरान बास्केटबल संघको प्राविधिक सहयोगमा हुने जानकारी दिइएको छ । विद्यालय स्तरिय प्रतियोगितामा यसै बर्ष एसईई दिएका विद्यार्थी खेलाडीहरुले सहभागी हुन पाउने डिपो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बुले बताए । 

डिपो स्कुल वर्तमान अवस्थासम्म आइपुग्न स्वर्गीय मेजर लिम्बुको ठुलो योगदान रहेको हुनाले उनको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष लिम्वुले बताए । प्रतियोगिता आयोजनाको पहिलो संस्करणमा परिवारको पनि सहकार्य रहने भएको छ । साथै, परिवारले प्रतियोगिता नियमित आयोजना गर्नको लागि चाडै नै छुट्टै अक्षयकोष स्थापना गर्ने स्वर्गीय लिम्बुका छोरा सुधिर लिम्वुले बताए । 

     प्रतियोगिताका विजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ भने प्रतियोगिताका उत्कृष्ट खेलाडि र हाइस्कोररले जनहि नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागीताको अन्तिम मिति साउन १२ गते रहेको छ भने १३ गते खेल तालिका सार्वजनिक गरिने डिपो क्याम्पसका प्रमुख राजकुमार राईले जानकारी दिए ।

स्वर्गीय लिम्बु २०५९ देखि २०७८ सम्म डिपो सार्वजनिक शैक्षिक गुठीको संस्थापक अध्यक्ष रहेका थिए । यस्तै, २०४७ देखि २०६२ साल सम्म विद्यालय व्यवस्थापन समितिको वरिष्ठ सल्लाहकार तथा २०६२ देखि २०७८ साल सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा रहेको थियो । उनको नेतृत्वमा विद्यालको निरन्तर विकास भई प्लस टु सम्म स्तर वृद्धि गरीएको लगायत विद्यालयको विकासमा विभिन्न योगदानहरू रहेको अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बुले बताए ।

धरान १६ स्थित जेसन रेस्टो, क्याफे एण्ड बारमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड अफ ट्रस्टिजका कार्यवाहक अध्यक्ष भिमराज लिम्बु, विद्यालय व्यवस्थापन समिति सदस्य विरेन्द्र बिक्रम लिम्बु, सदस्य सूर्य पन्धांक लिम्बु, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, धरान बास्केटबल संघका संस्थापक डिएसपि खगेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा हुनेछ ।