धरान: सियोन स्कुलको आयोजनामा शुक्रवार आयोजित एक दिने सियोन स्कुल थ्री वाइ थ्री महिला पुरुष बास्केटवल प्रतियोगिताको दुवै उपाधि होलिल्याण्ड स्कुलले जितेको छ । 

महिलातर्फको फाइनल खेलमा होलिल्याण्डले आयोजक सियोन स्कुललाई १२–१ स्कोरले हरायो भने पुरुषतर्फ डिपो स्कुललाई ९–७ स्कोरको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतिस्पर्धात्मक पुरुष तर्फको खेलमा निर्धारित समय सकिदा दुवै टिमले वरावर ७–७ अंक जोडेपछि समय थप गरिएको थियो । थप समयमा होलिल्याण्डले २ पोइन्ट जोड्दै ९–७ अंकको नतिजा ल्याएर होलिल्याण्डले उपाधि जितेको हो । 

basket2 2

उपाधि संगै विजेता होलिल्याण्ड स्कुलका महिला पुरुष दुवै टिमले नगद ४ हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता महिलातर्फका सियोन स्कुल र पुरुष तर्फका डिपो स्कुलले नगद २ हजार, ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी दुवैतर्फ होलिल्याण्ड स्कुलका घोषित भए । पुरुष तर्फ युडि लिम्वु र महिलातर्फ सन्ध्या राई उत्कृष्ट खेलाडी भए ।

उदयीमान खेलाडीमा महिला पुरुष दुवैतर्फ आयोजक सियोन स्कुलका सम्झना राई र संयोग राइ घोषित भए । उनीहरुलाई जनही नगद एक हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान १६ नं वडाका वडाध्यक्ष मुरारि भट्टराई, सियोन स्कुलका अध्यक्ष खड्क थापा मगर, प्रदेश १ बास्केटवलका मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, मुवाथाइ किक वक्सिङ्गका सुनसरी अध्यक्ष एलकोन मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।

basket 5

प्रतियोगिताको सेमिफाइनलमा महिलातर्फ सियोन स्कुलले चिल्ड्रेन स्कुललाई र होलिल्याण्ड ए ले होलिल्याण्ड वि टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । पुरुष तर्फ डिपो स्कुलले आयोजक सियोन स्कुल र होलिल्याण्ड स्कुलले तरहरा ए टिमलाई परिजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा यसै वर्ष एसइइ दिएका विद्यार्थीसम्मका पुरुष तर्फ १२ टिम र महिला तर्फ ५ टिमले सहभागिता जनाएको थियो ।