धरान: धरान उपमहानगरपालिकाको समन्वयमा आइतबार धरानका निजी विद्यालय र अभिभावकहरुबीच संयुक्त छलफल भएको छ ।

धरान १२ स्थित होटल पुर्वीस्टारमा आयोजित छलफल शिक्षाका सरोकारवाला अभिभावक र निजी विद्यालय सञ्चालकहरुसहित पहिलो पटक आयोजना भएको हो । मेयर हर्क साम्पाङले नीति बनाउदा सरोकारवाला निकायहरुसँग राय, सुझाव लिन आवश्यक भएकोले छलफल आयोजना गरिएको बताए । उनले सबैको राय, सुझाव लिएर साथै समस्याहरुको पहिचान र समाधानको उपाय पनि खोजेर नै आवश्यक नीति, नियम बनाउने पनि बताए । छलफलको क्रममा धेरै राम्रा सुझावहरु आएको पनि उनले बताए । 

edu1

छलफलमा अभिभावकहरुले केही विद्यालयहरुले महंगो शुल्क लिएको, बसभाडा पनि महंगो भएको, ड्रेस र किताब स्कुलले तोकेकै पसलबाट किन्न बाध्य पारिएको, सुविधा नदिई कम्प्युटरको फि लिने गरेको, बर्षेनी पुस्तक परिवर्तन र मुल्य पनि बढाउने गरेकोलगायत गुनासोहरु पोखेका थिए । स्थानीय सरकारले कडाईका साथ अनुगमन नगर्दा पनि निजी विद्यालय सञ्चालकहरुको मनोपोली भइरहेको भन्दै अभिभावकहरुले ध्यानाकर्षणसमेत गराएका थिए । कोभिडको बेला शुल्क नतिरेको भन्दै अनलाइन कक्षामा नै विद्यार्थीलाई बस्न नदिएको, जर्बजस्ती डे बोडर्स राख्न दबाब दिएपछि स्कुल नै परिवर्तन गर्नुपरेको गुनासो पनि अभिभावकहरुले पोखेका थिए । 

edu3

निजी विद्यालय सञ्चालकहरुले पनि स्कुल निती नियमअनुसार नै चलेको जिकिर गर्दै अभिभावकहरुलाई महंगो शुल्क नथोपरिएको बताएका थिए । उनीहरुले विद्यालय सञ्चालन, शिक्षक कर्मचारीको तलब वृद्धि गर्नलगायत खर्चको लागि शुल्क लिइएको प्रष्टीकरण दिएका थिए । केही स्कुल सञ्चालकहरुले आफुहरुलाई अपराध गरेको झैं स्थानीय सरकार र अभिभावकहरुले ठान्ने गरेको गुनासो गर्दै जुन स्कुलमा समस्या हो, त्यही अभिभावक र स्थानीय सरकारको शिक्षा महाशाखा पुगेर समाधान गर्न पनि उनीहरुले सुझाव दिएका थिए । शुल्कको बिषयमा विद्यालय र अभिभावकहरुबीच आपसी समझदारी गरेर लिएमा समस्या नहुने सुझाव पनि केही विद्यालय सञ्चालकहरुले दिएका थिए । 

भिडियो: