धरान: बराह सहकारीका सञ्चालक, कर्मचारीहरुको बैंक खाता तथा सम्पत्ति रोक्का गर्न धरान उपमहानगरपालिकाले विभिन्न निकायहरु पत्र लेखेपछि बराह पीडितहरु खुशी भएका छन् ।

सोमबार दिउँसो सीमित संख्यामा उपमहानगरको आर्थिक विकास महाशाखामा पुगेका पीडितहरु आफुहरुको माग वमोजिम पत्र तयार हुदै गरेको जानकारी पाएर खुशी भई फर्किएका हुन् । हिजो (आइतबार) छानबिन समितिको बैठक हुँदै गर्दा आक्रोशित पीडितहरुले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गरेका थिए भने उनको कार्यकक्षमा तोडफोडसमेत गरेका थिए । आज भने उपमहानगरपालिकामा सीमित संख्यामा मात्र पीडितहरु पुगेका थिए । उनीहरुले शान्तपुर्वक नै आर्थिक विकास महाशाखा प्रमुख तथा छानबिन संयोजक भक्तिराज शर्मासँग हिजोको निर्णय, पत्रको बिषयमा जानकारी लिएका थिए । 

क्लिकधरानसँग प्रतिक्रिया दिदै पीडित रामबहादुर परियारले आफुहरु मेयर साम्पाङविरुद्ध नभएको र हिजोको घटनाप्रति आफुहरु दुःखी भएको पनि बताए । यद्यपी मेयर साम्पाङको बोलीले पीडितहरु आक्रोशित भएको भन्दै उनले तोडफोड, हुलदंगा हुनु गल्ती भएको बताए । अर्का पीडित कमल राईले पनि आफुहरु बराह सञ्चालकविरुद्ध आन्दोलनमा भएको र मेयरको अभिव्यक्तिले पीडितहरु आक्रोशित भएर हिजोको घटना हुन पुगेको बताए । त्यसमा आफुहरुबाट पनि भएको गल्ती महशुस भइसकेको भन्दै उनले आफुहरुको आवाज सम्बन्धित निकायमा छिटो पुगोस् भन्ने मात्र चाहेको बताए । 

कुन कुन निकायमा लेख्यो सम्पत्ति रोक्का गर्ने पत्र ?

hema-thalang

धरान उपमहानगरपालिकाले बराह सहकारीका पदाधिकारी र जिम्मेवार कर्मचारीहरुको नाममा रहेको चलअचल सम्पत्ति र बैंकमा स्थिर सम्पत्ति तथा बैंक मौज्जाद रोक्का राख्न विभिन्न ११ वटा निकायमा पत्राचार गर्न पत्र तयार गरेको छ । 

उपमहानगरले बराह सञ्चालक, कर्मचारीहरुको लिष्टसहित उनीहरुको सम्पत्ति, बैंक खाता रोक्का गर्न पत्राचार तयार गरेको हो । छानबिन समितिकी छानबिन समितिकी सदस्य सचिवसमेत रहेकी हेमा थलङका अनुसार नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालय सुनसरी, भुमी व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सहकारी बैंक केन्द्रीय कार्यालयलाई पत्राचार गर्न पत्र तयार भएको छ । 

यस्तै, जिल्ला सहकारी संघ सुनसरी, वचत तथा ऋण सहकारी संघ इटहरी, वचत तथा ऋण केन्द्रीय संघ (नेप्सुन), सहकारी बैंक धरान शाखा, सम्पत्ति सुद्धिकरण विभाग ललितपुर र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाण्डौंलाई पत्रचार गर्न पत्र तयार भएको पनि उनले जानकारी दिइन् । 

भिडियो:

baraha2