तेह्रथुम: आफ्नै बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरेर फरार रहेका युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा २४ बर्षीय टंक बहादुर भण्डारी रहेका छन् । उनले हिजो बिहान आफ्नै बुबा ५३ बर्षीय भक्त बहादुर भण्डारीलाई घरायसी विवादमा धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरेका थिए । मुस्ली प्रहारबाट भक्तबहादुर गम्भीर घाईते भएका थिए । टंक भने घटानालगत्तै फरार भए । 

घाईते भक्त बहादुरको छथर अस्पताल शुक्रवारेमा उपचारको क्रममा हिजो बिहान सवा ७ बजे नै मृत्यु भएको थियो । घटनापश्चात फरार रहेका टंकलाई अन्य जिल्लाहरुमा जान नदिने गरि सबै नाकाहरुमा कडाई गरिएको प्रहरीले जनाएको छ । उनको खोजीमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, ईलाका प्रहरी कार्यालय बसन्तपुर लगायत मातहत प्रहरी कार्यालयहरुबाट प्रहरी परिचालन गरेर खोजी कार्य तीब्र पारिएको थियो ।

उनलाई हिजो राती नै साढे ९ बजे तेह्रथुमको म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुल आसपास क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा तेह्रथुम जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।