धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक पुरुषको जटिल शल्यक्रिया गरी ९ किलो ट्युमर निकालिएको छ । 

प्रतिष्ठानका अनुसार सप्तरीका ५५ बर्षीय पुरुषको साउन ९ गते शल्यक्रिया भएको थियो । उनी असार ३१ गते प्रतिष्ठानमा शल्यक्रियाको लागि भर्ना भएका थिए । उनको पेटको पछिल्लो भाग रेट्रोपेरिटोनलमा ट्युमर रहेको प्रतिष्ठानले जनाएको छ । उनको शलइक्रिया जी.आई सर्जरी विभागका एसिस्टेष्ट प्रोफेसर डा.कुणाल बिक्रम देवको नेतृत्वमा भएको थियो । 

डा.देवका अनुसार सामान्यतया रेट्रोपेरिटोनल ट्युमर पेटको पछिल्लो भागमा रहेको शरीरको ठुला रगतको नशा, मृगौला र यी अंगबाट आएको पिसाबको नली, ठुलो आन्द्रा, शरीरको तल्लो भागलाई सञ्चालन गर्ने स्नायुहरुसँग गाँसिएको हुन्छ । जसले गर्दा यो सर्जरी जटिल मानिने डा.देवको भनाई छ । ‘विरामीको शल्यक्रियामा ट्युमरको साथै मृगौलाबाट आएको पिसाबको नली पनि काटेर जोड्नुपरेको थियो, साथै बाँया भागको इन्टरनल इलिक आर्टरी बाँध्नुपरेको थियो,’उनले भने ।

शल्यक्रियाको लागि मल्टिडिसिप्लेनरी टिम एप्रोज तरिकाबाट डा.देवको नेतृत्वमा प्राडा शैलेश अधिकारी, डा.सुजन गौतम, डा. रतिस कर्ण, डा. सुस्मित शर्मा, यूरोलोजीबाट डा. आवाज काफ्ले, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. विजय साह संलग्न थिए । साथै एनेस्थेसिया विभागबाट प्रा.डा. आशिष घिमिरेको नेतृत्वमा डा.अरुण मण्डल, डा. सुजन पुन, नर्सिङका टिममा गीता बिक, रेनुका चौधरी र शोभा राईको पनि शल्यक्रियामा संलग्नता रहेको थियो । 

शल्यक्रिया गरेको विरामी आईसियुमा २ दिन उपचार पश्चात सर्जरी वार्डमा पनि ६ दिन उपचार गरिएको थियो । उनी हाल निको भएर दुई दिनअघि (साउन १७ मा) घर फर्किसकेका छन् । विरामी विगत ५ महिनादेखि विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचारको लागि धाइरहेका थिए । परिवारलाई पनि यो शल्यक्रिया नेपालमा सम्भव छैन भन्ने लागेको तर प्रतिष्ठानमा सफल शल्यक्रिया पछि निको भएर बुबा घर फर्किदा धेरै खुशी लागेको विरामीका छोराले प्रतिक्रिया दिएको प्रतिष्ठानले जनाएको छ । धेरै खर्च गरेर बिदेशको महँगो अस्पतालमा हुने जटिल शल्यक्रिया प्रतिष्ठानमा नै सर्वशुलभरुपमा पाउदा विरामीका परिवारलाई धेरै राहत पुगेको पनि प्रतिष्ठानको भनाई छ ।