धरान: किरात राई यायोक्खाले ३५ औं स्थापना दिवसको अबसरमा धरानमा शनिबार बृक्षारोपन गरेको छ । 

यायोक्खा जिल्ला कार्यसमिती सुनसरीको आयोजनामा धरान १७ स्थित साकेला पार्कमा बृक्षारोपन भएको हो । सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राईका अनुसार साकेला पार्कभित्र ४ सय वटा बिभिन्न प्रजातिका फलफुल लगायतका बिरुवा रोपिएको थियो । बृक्षारोपन कार्यक्रममा यायोक्खा सुनसरीका बिभिन्न वडा, भातृ, भाषिक संस्थाबाट सहभागिता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि एवं यायोक्खा केन्द्रीय समितिका निवर्तमान अध्यक्ष तिलक राईले अहिले जातीय सद्भाव भड्काउने केही तत्वहरु सक्रिय रहेको भन्दै सबै सचेत र संयमित हुनुपर्ने बताए । उनले संयमित भएर नै किरात प्रदेशको मागलाई पनि उठाउनुपर्ने बताए । 

कार्यक्रममा भोजपुरबाट प्रतिनिधिसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रदेशको नामाकरण यो प्रदेशसभाले टुंग्याउन नसक्ने छाँटकाट देखिएको बताए । उनले अब नयाँ आउने जनप्रतिनिधिहरुले प्रदेशको नामकरण टुंग्याउनुपर्ने पनि धारणा राखे । संविधानसभाका सभासद किरण कुमार राईले किरात राई यायोक्खालाई संगठित गर्दै अझ सशक्त्त ढंगले अगाडि बढाउनु पर्ने बताए । 

यसैगरि, सोही कार्यक्रममा साकेला पार्क भित्र इन्टरलक टालीबाट बनेको बाटोको पनि उद्घाटन पनि गरिएको थियो । उक्त बाटो धरानका निवर्तमान मेयर तिलक राईको मेयर कोषबाट ३ लाख ५० हजार सहित ७ लाख ५ हजार कुल बजेटमा निर्माण भएको थियो ।