धरान: ईलाका प्रशासन कार्यालय धरानको अगुवाईमा हिजो बुधबार बजार अनुगमन भएको छ । 

धरान उपमहानगरपालिकाको राजश्व शाखा, कृषि शाखा, ईलाका प्रहरी कार्यालय र नगर प्रहरीसहितको संयुक्त टोलीले वडा नं. ३ स्थित माछाभौडी क्षेत्रमा अनुगमन गरेको हो । टोलीले माछाभौडी बजार क्षेत्रमा रहेका भेटनेरी, किराना पसल, सुन पसल, माछा, मासु पसलको अनुगमन गरेको थियो । ईलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराईका अनुसार म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री हुन नदिन र इजाजत बिना व्यवसाय सञ्चालन हुन नदिन अनुगमन तथा कडाई शुरु गरिएको हो । 

धरान उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालयमार्फत सन्देशमुलक अनुगमन भएको भटट्राईले जानकारी दिए । उनका अनुसार किराना पसलमा म्याद गुज्रेको अखाद्य वस्तु, मासु पसलमा कुहिएको मासु भेटिएको थियो । ती म्याद गुज्रेको अखाद्य वस्तु र कुहिएको मासुलाई अनुगमन टोलीले फाल्न लगाएको पनि उनले बताए । पुनः अर्को पटक अनुगमनमा आउदा म्याद गुज्रेको, सडेगलेको, अखाद्य वस्तु उपभोक्तालाई बिक्री वितरण गरेको फेला परेमा प्रचलित कानुन अनुसार जरिवानासहित कारबाही गरिने पनि भटट्राईले जानकारी दिए । मिति सकिएको खाद्य वस्तुलाई एक्स्पायर जोन बनाएर अलग्गै राख्न, व्यवसाय दर्ता तथा मूल्यसूची उपभोक्ताले देखिने स्थानमा अनिवार्य राख्न पनि अनुगमनको क्रममा निर्देशन दिइएको भट्टराईको भनाई छ ।