धरान: धरानमा भोली (शुक्रबार) आयोजना हुन लागेको जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रमको तयारी पुरा भएको छ । 

जेबी टुहुरे स्मृति फाउण्डेशनले पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको हो । कार्यक्रम भानुचौकमा दिउसो ३ बजे देखि हुनेछ । कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहने पनि आयोजकले जनाएको छ । कार्यक्रममा रचनाकार गीतकार लव प्रधान ुमित्रु लाई सम्मान गरिने भएको छ । 

जनवादी गायककोरुपमा आम जनतामाझ परिरिचत गायक जेबी टुहुरेको वास्तविक नाम जुठ बहादुर खड्गी हो । उनले धरानबाटै नयाँ लहर सांगीतिक समुहबाट गीत, संगीतमा लागेका थिए । नयाँ लहरपछि सङ्कल्प गीति कार्यक्रम समूहबाट सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । उनले पहिलो पटक विस ०३३ सालमा धरानको भूपू सैनिक भवनमा पहिलो पटक ’आमा दिदी बैनी हो’ जस्तो कालजयी गीत सार्वजनिक गरेका थिए । 

उक्त कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, सभामुख प्रदीपकुमार भण्डारी, सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे, नेपाली काँग्रेस केन्द्रीय समिति सदस्य अमृत अर्याल, जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ, सल्लाहकार परिषद् सदस्य तथा पूर्व उपाध्यक्ष राष्ट्रिय जनसांस्कृतिक महासङ्घका जिवेन्द्रदेव गिरी, राष्ट्रिय जनमुक्ति पाटी केन्द्रीय अध्यक्ष केपी पालुङ्वा विशेष अतिथिको रूपमा कार्यक्रममा सहभागी हुने आयोजले जनाएको छ । 

आयोजकका अनुसार कार्यक्रमको पहिलो खण्डमा स्रष्टा सम्मान र दोस्रो खण्डमा साङ्गीतिक कार्यक्रम हुनेछ । साङ्गीतिक कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरूले गीतसङ्गीत प्रस्तुत गर्ने भएका छन् । फाउन्डेसनको आयोजना, खड्गी सेवा समिति धरानको संयोजक र धरान सङ्गीत प्रतिष्ठानको सहसंयोजकमा कार्यक्रम हुन लागेको हो ।