धरान:मोची राजमार्गमा झापाबाट हर्कटेतर्फ जादै गरेको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर ट्रकको टायरमुनि पस्दा चालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार आज (मंगलबार) दिउँसो करिब पौने ५ बजे ईलामको रोङ गाउँपालिका ४ भालुझोडास्थित मेचि राजमार्गमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतक मोटरसाइकल चालकको पहिचान हुन नसकेको पनि प्रहरीले जनाएको छ । झापाबाट हर्कटेतर्फ जादै गरेको मे ४ प ८३५५ नम्बरको मोटरसाइकलले सोही दिशाबाट जादै गरेको मे १ क ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

ओभरटेकको क्रममा मोटरसाइकल सडकमा रहेको खाल्डामा परेर अनियन्त्रित भएको थियो, र ट्रकको पछाडीको टायरको मुनि पसेको थियो । उक्त दुर्घटनामा ट्रकले किचेर मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको ईलाम प्रहरीले जनाएको छ । ट्रक चालक ईलामको सुर्योदय नगरपालिका ९ का ३६ बर्षीय निर्मल तामाङलाई प्रहरी चौकी किटेनीले नियन्त्रणमा लिएर राखेको छ भने ट्रक र मोटरसाइकल घटनास्थलमा नै रहेको छ । अपठ्यारो सडक र खाल्डा खुल्डीले गर्दा उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।