धरान: धरानमा खाल्डाखुल्डी भएका सडकहरु मर्मत गर्न ठेक्का पाएको साह निर्माण सेवाले गुणस्तरहिन काम गरेको भन्दै ठेक्का रद्द गर्न माग गरिएको छ । 

धरान १० नारायण चोकमा बुधबार खाल्डा पुर्ने क्रममा वडाअध्यक्ष विवेक राईले अनुगमन गर्दा लापरवाहीपुर्ण तथा गुणस्तरहिन कार्य गरेको भेटिएको भन्दै कम्पनीसँगको ठेक्का रद्द गर्न माग गरेको हो । वडाअध्यक्ष राईले तत्काल काम रोक्न निर्देशन दिएका थिए भने आज (बिहिबार) धरान उपमहानगरपालिकामा ठेक्का रद्द गर्न माग गर्दै निवेदनसमेत दिएका छन् । वडाको टोलीले मेयर हर्क साम्पाङ र प्रमुख प्रशासकीय अधिकृतलाई माग पत्र पेश गरेका छन् ।

road2

वडाअध्यक्ष राईका अनुसार २ करोड ३० लाखमा साह निर्माणले ठेक्का पाएको हो । यो बजेटमा वडा १८, वडा १५, वडा ८, वडा १६, वडा १३,९ र १०, वडा १ लगायत विभिन्न ९ वटा सडक एउटै प्याकेजमा ठेक्का पाएको हो । मर्मत कार्य वडा कार्यालयलाई पनि जानकारी नै नदिई २८ गते (मंगलबार) राती काम गरेको र भोलीपल्ट निरीक्षण गर्न जादा गुणस्तरहिन काम भएको पाएको उनले बताए । ‘प्राविधिकहरु पनि खटिएको छैन, एकदमै लापरवाही भएको देखियो,’उनले भने,‘ठेक्का रद्द गर्न र ठेकेदारलाई कालोसुचीमा राख्न माग गरेको छुँ ।’ उनले धरानकै कम्पनीबाट काम गराउनुपर्ने पनि बताए । त्यसो गर्दा पैसा धरानबाट बाहिर पनि नजाने उनको भनाई छ । 

मेयर साम्पाङले भने मर्मतमा लापरवाही भए नभएको ईञ्जिनियर, प्राविधिकसँग बुझ्नुपर्ने बताए । उनले कमीकमजोरी भएको देखिए सच्याउनुपर्ने पनि बताए । ‘प्राविधिक बिषय भएकोले इञ्जिनियरलाई बुझ्नुपर्छ । काम नगर्नु पनि भनेको छुँ,’मेयर साम्पाङले भने । 

भिडियो: