धरान: धरान वडा नं १० का वडाअध्यक्ष विवेक राईले अपशब्द बोल्दै कुटपिट गरेको सरसफाईकर्मीहरुले आरोप लगाएका छन्।

आज (सोमबार) बिहान पुतलीलाइनको फोहोर संकलन भइरहेको बेला रुट नपरेको क्षेत्रको पनि फोहोर उठाउनु भन्दै वडाअध्यक्ष राईले अपशब्द प्रयोग गर्दै कुटपिट गरेको सफाइकर्मीहरुको भनाई छ । वडअध्यक्ष राईले सफाईकर्मी चालक राजेश थापामाथि कुटपिट गरेको बताइएको छ । पीडित भनिएका सफाईकर्मी थापाले उपमहानगरपालिकामा निवेदन दिइसकेका छन् ।

पीडित सफाईकर्मीका अनुसार फोहोर संकलन कार्य गरिरहदा वडाअध्यक्ष राईले विशाल पथमा ड्रेनको फोहोर झिकेर राखेको र त्यो उठाउन भनेका थिए । तर, आज पुतलीलाइन भाटभाटेनी क्षेत्रको पालो (रुट) भएकोले त्यो क्षेत्रमा भोली आएर उठाउने जवाफ दिएको उनले बताए । ‘त्यहाँको पालो भोली हो, भोली उठाइदिन्छौं भन्दा पनि मान्नुभएन । महाशाखाको नम्बर दिन्छुँ, त्यहाँ भन्नुस् न भन्दा पनि भएन । अपशब्द बोलेर तानेर घिसार्र्यो, एक झापड हान्यो,’उनले भने । 

वडाअध्यक्षले माफी नमागेसम्म सफाइकर्मीहरुले वडा १० को काम नगर्ने भएका छन् । कुटपिट भएपनि सबै सफाईकर्मीहरु नगरपालिका पुगेका थिए । त्यहाँ मेयर साम्पाङसँग उनीहरुले वडाअध्यक्षले माफी माग्नुपर्ने माग गरेका छन् भने सफाइकर्मीहरुको सुरक्षाको बिषय पनि उठाएका छन् । मेयर साम्पाङले पनि यो बिषयमा वडाअध्यक्षसँग छलफल गर्ने आश्वासन दिए ।

 वातावरण महाशाखा प्रमुख भेषराज घिमिरेले पनि जिम्मेवार जनप्रतिनिधिबाट सफाइकर्मीमाथी हातपात, गालीगलौजको घटना दुःखद भएको बताए । यसले कर्मचारीहरुको मनोवल घटाउने भन्दै उनले कर्मचारी सुरक्षित नभएको आभाष भए काम गर्न गाह्रो हुने पनि बताए । पीडितले निवेदन दिइसकेकोले नेतृत्वले सम्बन्धित पक्षसँग बसेर निकास निकाल्नुपर्ने पनि घिमिरेले बताए ।