धरान: वडादशैंमा धरानबाट हेलिकप्टरमार्फत प्रसिद्ध धार्मिकस्थल पाथीभारा दर्शन गर्न सकिने भएको छ ।

धरान होलिडेजले असोज १० गते घटस्थापनाको दिनदेखि नवमीसम्मको लागि हेलिकप्टरबाट पाथीभारा दर्शन गर्न जाने प्याकेज ल्याएको हो । गाडी यात्रा र पैदलमार्फत पाथीभारा दर्शनमा जान नसक्ने तीर्थालु भक्तजनहरुको लागि हेलिमार्फत दर्शन गर्ने व्यवस्था गरिएको धरान होलिडेजका अध्यक्ष कुन्दन श्रेष्ठले जानकारी दिए । उनले भने,‘पाथीभारामा हिडेर जान नसक्नुहुने वृद्धवृद्धाहरुको लागि यो सुविधा ल्याइएको हो । २ घण्टाभित्र पाथीभारा दर्शन गरेर धरानमै आइपुग्छ ।’

विगतमा ५ जनाको मात्र सिट भएको हेलिकप्टर थियो । यसपाली भने ६ सिटे हेलिकप्टर आउने धरानका व्यवसायी तथा होलिडेजका अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘एक पटकमा ६ जना उड्नुहुन्छ । पहिलो पटक धरानबाट ६ सिटे हेलिले शुरु गर्दैछ,’उनले भने । दशैंमा पाथीभारामा बिशेष पुजा हुन्छ भने धार्मिक मेला पनि लाग्छ । त्यसैलाई लक्षित गरेर धरानबाट हेलिकप्टर सुविधा ल्याएको धरान होलिडेजले जनाएको छ । होलिडेजले एक व्यक्तिको ३८ हजार ९९९ रुपैया शुल्क लाग्ने पनि जनाएको छ । 

सिम्रिक एयरको उक्त हेलि आइतबार धरान १६ स्थित रंगशाला परिसरमा ल्याण्ड हुनेछ । आइतबार नै धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघालाई हेलिकप्टरमा धरानको फनफ्लाइट गराउने अध्यक्ष श्रेष्ठले जानकारी दिए । फनफ्लाइट गर्न चाहने व्यक्तिहरुले ६ जनाको समुह बनाएर आएर उडाइने पनि उनले बताए । यस्तै, पुर्व क्षेत्रमा कुनै उद्दार कार्यमा आवश्यक परेमा पनि हेलिकप्टर उपलब्ध हुने होलिडेजले जनाएको छ । ‘धरानमा नै हेलिकप्टर रहने भएकोले पुर्वक्षेत्रमा उद्दार गर्नुपरेमा सस्तो पर्छ । काठमाण्डौंबाट हेलिकप्टर ल्याउदा महंगो हुन्छ,’श्रेष्ठले भने ।