धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सेन्ट्रल ल्याबको काउन्टर अबदेखि बिहान ७ बजेदेखि नै खुल्ने भएको छ ।

विरामीहरुलाई सहजताको लागि ल्याबमा परिक्षण गर्न नमुना संकलन गर्ने कार्यको लागि बिहान ७ बजेदेखि नै काउन्टर खुल्ला हुने प्रतिष्ठानले जनाएको छ । यसअघि भने ओपिडीमा आउने विरामीहरुको लागि बिहान ८ बजेदेखि मात्र ल्याब परिक्षणको लागि काउन्टरहरु खुल्ने गरेको थियो । अबदेखि बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म ल्याब काउन्टर निरन्तर खुल्ला रहने सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजेदेखि २ बजेसम्म खाना समयमा पनि काउन्टर खुल्ला रहनेछ । विगतमा भने यो समयमा प्रतिष्ठानमा बन्द हुने गरेको थियो ।

यसैगरि, अस्पतालमा भर्ना भएका विरामीहरुको नमुना संकलन कार्यको समय पनि थप गरिएको प्रतिष्ठानले जनाएको छ । आइतबारदेखि बिहिबारसम्म बेलुकी ७ बजेसम्म संकलन गरिनेछ भने शुक्रबार बेलुकी ४ बजेसम्म समय थप गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार विरामीहरुलाई सुविधाको लागि ओपिडी र वार्डको नमुना संकलन काउन्टर र रिपोर्ट वितरण काउन्टर पनि छुट्टा छुट्टै व्यवथा गरिएको छ । वार्डको रिपोर्ट सम्बन्धित वार्डमा नै उपलब्ध हुने पनि प्रतिष्ठानले जनाएको छ ।

यी हुन् काउन्टरहरु:

१) ओपिडी नमुना संकलन: सेन्ट्रल ल्याबमा रहेको काउन्टर नं १ देखि ७ मा गरिनेछ ।

२) वार्डमा भर्ना भएका विरामीहरुको नमुना संकलनः काउन्टर नं ८ (सेन्ट्रल ल्याबको उत्तर पट्टी बाहिर आइसियु र वार्ड जाने करिडोरको बीचमा, भुँईतल्ला)मा गरिनेछ । वार्डको रिपोर्ट सम्बन्धित वार्डमा नै उपलब्ध हुनेछ ।

३) ओपिडी रिपोर्ट वितरण काउन्टरः सेन्ट्रल ल्याब प्रवेशद्धारको उत्तर पट्टीको कोठा नं २६ बाट गरिनेछ ।