धरान: हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो  'द भोइस अफ नेपाल'मा शीर्ष १२ मा छनोट हुन सफल पदम राईलाई विजयी बनाउन धरानमा अभियान सुरु गरिएको छ । 

पदमका परिवारले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै भोटमार्फत विजयी बनाउन अपील गरेका हुन् । 'टिम राजेश'मा रहेका पदमलाई खल्ती एपमार्फत भोट गर्न सकिने छ । 'साङ्गीतिक क्षेत्रमा धरानले देशकै प्रतिनिधित्व गर्दै आएको छ, यहाँका सङ्गीतप्रेमी समुदायमा पदमलाई भोट गरिदिन अपील गर्दछु,' पदमका साहिला दाइ भूपाल राईले भने,'भोइसले संघर्षरत प्रतिभाहरुलाई प्लेटफर्म दिइरहेकाले धराने युवालाई प्रोत्साहित गर्न म सबैलाई आग्रह गर्दछु ।' 

पदम पूर्वका प्रतिभा रहेकाले सबैलाई सहयोग गर्न धरानका स्थानीय तथा संविधान सभा सदस्य किरण राईले बताए । प्रतिभा भएर पनि अवसर प्राप्त गर्ने अवस्था नरहेकाले द भोइसको यो अवसरलाई पदम राईको पक्षमा पार्न सबैले सहयोग गर्न उनले आग्रह गरे । ब्लाइण्ड राउन्डमा टिम प्रमोदलाई छनोट गरेका पदमले ब्याटलमा बाहिरिंदा कोच राजेशले स्टिल गरेका थिए । नकआउट राउण्डमा प्रतिस्पर्धीलाई पछि पार्दै पदम हाल लाइभ राउण्ड पछि क्लोज क्याम्पमा छन् ।