धरान: कुटपिटबाट घाईते भई एक महिना पछि मृत्यु भएकी धरान १३ की उषा राईको घटनामा मुख्य आरोपी महिला पक्राउ परेकी छिन्।

घटनाको मुख्य आरोपी भनिएकी धरान १३ निवासी उर्मिला राई पक्राउ परेकी हुन् । घाइते अवस्थामा उपचारको क्रममा उषाको मृत्यु भएपछि उर्मिला फरार थिइन् । उनलाई आज नियन्त्रणमा लिइएको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । उनले भने,‘उर्मिला राईलाई पक्राउ गरेका छौं, घटनाबारे अनुसन्धानको क्रममा नै रहेकोले थप केही भन्न मिल्दैन ।’

गत कार्तिक ३ गते उषा राईमाथि महिलाहरुको समुहले कुटपिट गरेको थियो । उपचार पश्चात डिस्चार्ज भएकी उषासँग कुटपिट गर्ने पक्षले कार्तिक ८ गते उपचार खर्च दिएर मिलापत्रसमेत गरेको थियो । तर, गत साता उनको स्वास्थ्य बिग्रिएपछि उपचारको लागि वीपी प्रतिष्ठान भर्ना गरिएको थियो । आइसियुमा उपचारको क्रममा नै उनको मृत्यु भएपछि परिवारजनले उर्मिला राईसहित कुटपिटमा संलग्नहरुविरुद्ध किटानी जाहेरी दिएको थियो । उषाको मृत्यु भएलगत्तै सबै फरार थिए । 

मृतक उषा डेरामा बस्छन् । उनको श्रीमान्को करिब २ बर्षअघि नै मृत्यु भइसकेको थियो । उनको २ छोरी छन् । उनी कपडा सिलाएर घर खर्च जुटाइरहेका थिए । आरोपी उर्मिलाले आफ्नो श्रीमान गोविन्द राईसँग नजिकिएको आरोपमा उषामाथि आफन्त र महिलाहरु लगेर कुटपिट गरेका थिए । त्यसबेला विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्यमा गम्भीर असर पुगेको बताइएको छ । यो घटनामा जनजागृति आमा समुह पनि मुछिएको छ । तर, उक्त समुहले आफ्नो संलग्नता नभएको र केही सदस्य व्यक्तिगतरुपमा संलग्न भए कारबाही हुनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ । 

भिडियो:

भिडियो:

भिडियो: