धरान: ११ औं धरान १० के रन नेवा च्यारिटी आगामी फागुन १३ गते हुने भएको छ । 

धरान रन समुहले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ११ औं सँस्करण आयोजनाबारे जानकारी दिएको हो । समुहका अध्यक्ष रमु राईका अनुसार यो सँस्करणमा बिबिसी सेफका विजेता सन्तोष साह प्रमुख व्यक्तित्वकोरुपमा आउनेछन् । 

आयोजकले यसपाली पहिलो पटक दौडमा चिप टाइमिङ सिस्टम प्रयोगमा ल्याउने पनि जानकारी दिएको छ । प्रत्येक धावक धाविकाहरुलाई चेस्ट नम्बरमा चिप लगाएर समय मापन गरिने अध्यक्ष राईले बताए । यसले कोही पनि दौडको बीचमा फास्ट ट्रयाकबाट दौडन नसक्ने र सही टाइमिङ देखिने उनले बताए । ह्विलचियर र १३ बर्ष मुनिकाबाहेक अन्य उमेर समुहका सहभागीहरुलाई चिप लगाउने अध्यक्ष राईले बताए । पेपरलेस बनाउने उद्देश्यले इ सेवासँग समन्वय गरेर अनलाइन फर्म भर्ने पनि व्यवस्था गरिएको उनले बताए । 

प्रतियोगितामा १६ देखि ३९ बर्षसम्मका खुल्ला दौड समुहतर्फ महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ६० हजार, ४० हजार र ३० हजार दिइनेछ । १३ बर्षमुनिकालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइनेछ । १३ देखि १६ बर्षभित्रकाहरुलाई पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइनेछ भने ४० बर्षमाथिका भेट्रान समुहका विजेताहरुलाई पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइने समुहले जनाएको  छ। 

dharan-run-news

प्रतियोगितामा ह्विलचियर रेस पनि हुनेछ भने सबैलाई टि सर्ट उपलब्ध गराउने धरान रन समुहले जनाएको छ । वातावरण संरक्षणको लागि प्लाष्टिकजन्य बोतल, गिलासलाई न्युनिकरण गर्ने र खेलकुद तथा समाजमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान पनि गरिने समुहले जनाएको छ । 

नेवा च्यारिटी अन्तर्गत रहेको नेवा एजुकेशन फण्डबाट विद्यार्थीहरुलाई छात्रवृत्ति निरन्तरता दिइनेछ । एजुकेशन फण्डको ब्याजबाट प्रत्येक ३ महिनामा १२ जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री (छात्रवृत्ति) प्रदान गर्दै आइरहेको छ । शुक्रबार पत्रकार सम्मेलन पछि १२ जनालाई छात्रवृत्ति पनि प्रदान गरिएको थियो । 

भिडियो: