धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरु र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । 

मंसिर ४ गतेको निर्वाचतबाट प्रतिनिधिसभा सदस्यमा निवार्चित सांसद अशोककुमार राई र प्रदेशसभा १ (क) बाट निवार्चित रमेश बस्नेत, प्रदेशसभा १ (ख)बाट निवार्चित विजय राई बुधबार दिउँसो उपमहानगरपालिका पुगेका थिए । मेयर साम्पाङको कार्यकक्षमा संघीय र प्रदेश सांसदहरुबीच भेट भएको थियो । 

भेटमा सांसदहरुले जोगवनी धरान सडक आयोजनाको ६ लेन सडक बजार क्षेत्रबाट विस्तार गर्ने, धरान लेउती सुरुङ मार्ग, मदन भण्डारी राजमार्गले विस्थापित हुने भनिएको परिवारको बारेमा मेयर साम्पाङसँग स्थानीय सरकारको धारणाबारे जिज्ञासा राखेका थिए । संघीय सांसद अशोक राईले यी बिषयमा जिज्ञासा राखेका थिए । 

mayor-san

प्रदेश सांसद बस्नेतका अनुसार चाडै ६ लेन सडकबारे धरानको बजार क्षेत्रमा के गर्ने भनेर निर्णय नलिए आयोजनाको म्याद सकिन लागेकोले भविष्यमा बजार क्षेत्रको सडक विस्तार नहुने भएकोले बढी चासो लिइएको जानकारी दिए । उनले यो सडकबारे चाडै निर्णय लिनुपर्ने भएकोले आफुहरु पनि सहयोग गर्न तयार रहेको बताए । 

मेयर साम्पाङले ६ लेन सडक विस्तारबारे चाडै सरोकारवाला, प्रभावित वडाका जनतासँग छलफल गरेर निष्कर्षमा पुग्ने बताए । उनले सुरुङ मार्ग बनाउदा सर्दु जलाधार क्षेत्र मासिने भएकोले आफु सहमत नहुने बताए । तर, सुरुङ मार्गको एलाइमेन्ट परिवर्तन भएमा सोच्न सकिने पनि बताए । सांसदहरु र मेयर साम्पाङले आउदो दिनहरुमा पनि सहकार्य, समन्वय गरेर अघि बढ्ने धारणा राखेका थिए । 

भिडियो: