धरान: धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले वर्तमान मेयर हर्क साम्पाङलाई संयमता अपनाउन र वडाका सबै जनप्रतिनिधिहरुलाई साथमा लिएर अघि बढ्न सुझाव दिएका छन् ।

तीन दिने धरान उत्सवको तयारी बैठकमा २ जना वडाअध्यक्षहरु मात्र उपस्थित भएको देखेपछि पुर्वमेयर मेन्याङ्बोले मेयर साम्पाङलाई यस्तो सुझाव दिएका हुन् । नगर पिता सबैको अभिभावक भएकोले मेयर साम्पाङको काँधमा महत्वपुर्ण जिम्मेवारी र दायित्व भएको उल्लेख गर्दै पुर्वमेयर मेन्याङ्बोले वडाका सबै जनप्रतिनिधिहरुलाई साथमा लिने जिम्मेवारी पनि मेयर साम्पाङकै काँधमा भएको बताए । ‘तपाई अलिकति संयम हुनैपर्छ, जनप्रतिनिधिहरुको आवाजलाई हृदयंगम गर्नैपर्छ,’उनले भने,‘कसैले सामान्य कमेन्ट गर्यो, तपाईको एजेण्डामाथि विमति राख्ने बित्तिकै ऊ प्रति अनुदार भैहाल्नुपर्ने जरुरी छैन । तपाई अभिभावक हो, अभिभावकलाई स्वभाविक हिसाबले आफ्नो कुरा राख्छन् ।’

मेयर र कार्यपालिका सदस्यहरुको विवादले धरान राजनीतिकरुपमा अस्वस्थ्य भएको पनि पुर्वमेयर मेन्याङ्बोले टिप्पणी गरे । धरान उत्सव तयारी बैठकमा सबैलाई आमन्त्रण गरेपनि राजनीतिक दलका प्रनिनिधि र वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु नआएको भन्दै पुर्वमेयर मेन्याङ्बोले मेयर, उपमेयर र केही वडाअध्यक्षहरुले मात्र पहल गरेर धरान उत्सव सफल नहुने पनि बताए । 

dharan1

पुर्वमेयर मेन्याङ्बोले मेयर र कार्यपालिका सदस्य, वडाअध्यक्षहरुको दुरी बढ्दै गएमा कसैलाई पनि मन्तव्यमा नपुर्याउने पनि बताए । ‘तपाईहरु मात्र असफल हुने भए त केही छैन तर धरानेहरु नै असफल हुन्छौं भन्ने ठुलो चिन्ता छ,’उनले भने,‘कम्तीमा तपाईहरु विवेक प्रयोग गर्नुस् । मेयर साबले सबैभन्दा बढी प्रयोग गर्नुस्, वडाअध्यक्षहरुले पनि विवेक प्रयोग गर्नुस् ।’

पुर्वमेयर मेन्याङ्बोले कार्यपालिका बैठकमा कतिपय कुरामा लाज लाग्ने गरि केटाकेटीपन देखिएको पनि बताए । ‘बोर्ड बैठकमा एउटा सदस्यले एउटा प्रस्ताव राख्छ, त्यसमा विमती हुन्छ, र बैठक नै छोडेर हिड्छ । मेयरले बोर्ड बैठक डाँक्छ, आएर वडाअध्यक्षहरु आज नबस्ने भनेर उठेर हिड्नुहुन्छ,’उनले भने,‘धरानका राजनीतिकर्मीहरुको सँस्कार, सँस्कृति, अनुशासन, परम्परा यहीँ हो ? यस्तो खालको परम्पराले धरानको प्रतिष्ठा बढ्छ ? हाम्रो विका र निर्माण अगाडि बढाउन सकिन्छ ? किमार्थ सकिदैन ।’ 

एक्लै हिडेर कोही पनि गन्तव्यमा पुग्न नसकिने भन्दै पुर्वमेयर मेन्याङ्बोले एकले अर्कालाई सहयोग लिएर अघि बढ्न जरुरी रहेको बताए । ‘मेयर साबको सत्प्रयासलाई सबै नगरबासीले सहयोग गर्छन्, मैले के गर्नुपर्छ गर्छु । सबै नगरबासी सहयोग गर्न तयार छन् । तर कम्तीमा तपाईले संयमता अपनाउनुस्, र जनप्रतिनिधि साथीहरुलाई एक बनाएर अगाडि जाने कुरामा तपाईले विवेक प्रयोग गर्नु जरुरी छ,’ पुर्वमेयर मेन्याङ्बोले भने । 

भिडियो:

भिडियो: