धरान: निर्माण सम्पन्न हुने क्रममा रहेको धरानका विभिन्न सडकहरुको उपमेयर अइन्द्रबिक्रम बेघाको नेतृत्वमा सोमबार स्थलगत अनुगमन गरिएको छ ।
उपमेयर बेघासँगै जिल्ला समन्वय समितिका सदस्यहरु, कार्यपालिका सदस्य सावित्री परियार, इञ्जिनियर सुरज श्रेष्ठ, वडा नं ११ का वडाअध्यक्ष लोकेन्द्र फागोसहितको टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले शुरुमा धरान ११ स्वास्तिका चोकदेखि मंगलबारेसम्म निर्माण भइरहेको ५० फिट मापदण्डको सडक अनुगमन गरेको थियो । उक्त सडकमा साइकल लेनसमेत निर्माण हुने इञ्जिनियर श्रेष्ठले जानकारी दिए । अस्फाल्टबाट निर्माण भएको उक्त सडक ५ बर्षसम्म नभत्कने ठेकेदार कम्पनीका प्राविधिकको दाबी छ ।
यो सडकको ठेक्का लागेर करिब २ बर्षअघि काम शुरु भएको थियो । खानेपानीको पाइपलाइन र विजुलीको पोल समयमा व्यवस्थापन नहुदा निर्माण कार्यमा अवरोध पुगेको ठेकेदार कम्पनीको भनाई छ । गत बैशाखदेखि भने निर्माण कार्यले तीब्रता पाएको र अब एक महिनाभित्र सम्पुर्ण काम सम्पन्न हुने पनि ठेकेदारका प्राविधिकले जानकारी दिए । यो सडक करिब ७ करोडको स्टिमेट गरिएको थियो भने करिब पौने ६ करोडमा ठेक्का लागेको थियो । यो सडक झण्डै १२ सय मिटर लम्बाई रहेको छ ।
वडा नं ११ का वडाअध्यक्ष फागोले सडक गुणस्तरीय निर्माण भएको भन्दै खुशी व्यक्त गरे । प्राविधिकरुपमा नाँपजाँचमा कडाई हुने र वडाले पनि नियमितरुपमा निरिक्षण गरिरहेको कारण गुणस्तरीय निर्माण भएको उनको भनाई छ । ‘म सन्तुष्ट छुँ । सबै जनता त खुशी नहोलान्, तर अधिकांश खुशी छन् । छिटो काम सकियोस् भन्ने चै छ,’उनले भने ।
उक्त सडकपछि अनुगमन टोली धरान १७ पटनालीस्थित आधारभुत स्वास्थ्य केन्द्र, धरान ८ सिद्धार्थ मार्गको सडक, धरान ८ वडा कार्यालय र वडा ३ स्थित भृकुटी मार्गको सडक अनुगमनमा पुगेको थियो । उपमेयर बेघाले जनता खुशी हुने गरि निर्माण कार्य वलियो र राम्रो हुनुपर्ने बताए । निर्माण भइरहेको बेला पनि नगरको प्राविधिक, वडाका जनप्रतिनिधिहरुले निरन्तर निगरानी गरेको भन्दै उपमेयर बेघाले प्राविधिकहरुलाई थप जिम्मेवार बनाउनुपर्ने बताए । ‘विकास निर्माणको काम तीब्र गतिमा भइरहेको छ, कामहरु पनि राम्रो नै भएको छ,’उनले भने,‘जनता खुशी हुनुपर्छ, बाटो राम्रो हुनुपर्यो । अरु कसैलाई खुशी बनाइरहनुपर्दैन । अरु खुशी बनाउने चलनको हामी ब्रेक गछौं ।’
भिडियो: