धरान: तीन महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा शनिबारदेखी धरानमा शुरु भएको छ । 

किरात राई यायोक्खा जिल्ला कार्यसमिती सुनसरी र एक नम्बर प्रदेश किरात राई कर्मचारी मञ्चको संयुक्त आयोजना तथा किरात राई बिद्यार्थी संघ सुनसरीको सहयोगमा कक्षा शुरु भएको हो । धरान १० स्थित यलम्बर स्‍मृति संग्रहालयको सभाहलमा शनिबार तयारी कक्षाको उद्घाटन गरिएको थियो । लोकसेवा तयारी कक्षाको उद्घाटन सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अशोक कुमार राईले गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले राज्य सबैको भएकोले राज्यको हरेक निकायमा सबै जातजाती, समुदायको सहभागिता हुनुपर्ने बताए । उनले निजामती सेवालाई राज्यको स्थायी सरकारको रुपमा लिने गरिएको बताउदै लक्ष्य प्राप्तिका लागि कटिबद्ध भएर लाग्न प्रशिक्षार्थीहरुलाई सुझाब पनि दिए । यायोक्खाको प्रशंसनीय कार्यको अन्य समुदायले पनि सिको गर्दै लानुपर्नेमा सांसद राईले जोड दिए ।

kiraya1

आयोगको तयारी कक्षामा प्रदेश न १ को १० जिल्लाबाट राई समुदाएका १४० जनाको सहभागिता रहेको किराया जिल्ला कार्यसमिती सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । उनका अनुसार राई जातिको चाम्लिङ, बान्तावा, खालिङ, दुमी, पुमा लगायतका १७ भाषिक समुदायको सहभागिता रहेको छ।

तीन महिनासम्म सन्चालन हुने लोकसेवा आयोग तयारी कक्षामा सहभागिहरुलाई महालेखापरीक्षक कार्यालयका निर्देशक योग्य प्रसाद राई, राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक तिर्थराज राई, उदयपुरको कटारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल किराती, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उद्धव प्रसाद रिजालसहित १२ जनाले प्रशिक्षण गराउने किराया जिल्ला कार्यसमिती सुनसरीका सचिब नबिन राईले बताए । कार्यक्रममा संघीय सांसद सुशिला श्रेष्ठ, पुर्व सिडिओ प्रेम वान्तावा राई, यायोक्खा केन्द्रिय उपाध्यक्ष दोर्पध्वज राई, किराया कर्मचारी मन्चका प्रदेश तथा बिभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।