धरान : प्रदेश नं १ को मुख्यमन्त्री नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की हुने भएका छन् ।

नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाले पनि समर्थन गरेपछि कार्की मुख्यमन्त्री हुने निश्चित भएको हो । आज दिउँसो ४ दलले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीमा कार्कीलाई समर्थन रहेको उल्लेख गर्दै नियुक्ती गरिदिन दाबी पत्र पेश गरेको थियो । माओवादी, राप्रपा र जसपाले समर्थन गरेपछि कार्कीको पक्षमा बहुमत पुगेको छ । 

प्रदेश प्रमुख खापुङ समक्ष पेश गरिएको पत्रमा एमालेका संसदीय दलका नेता कार्की, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बुको हस्ताक्षर रहेको छ । कुल ९३ सदस्यीय प्रदेशसभामा एमालेको ४० जना सांसद छन् भने माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद छन् । सरकार गठन गर्न ४७ जना सांसद आवश्यक भएपनि कार्कीको पक्षमा ६० जना पुगेको छ ।

कार्कीलाई भोली सोमबार मुख्यमन्त्रीको सपथग्रहण गराउने कार्यक्रम रहेको छ । कार्की यसअघि पनि शेरधन राईको मुख्यमन्त्रीकालमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए । 

pradesh-cm1