धरान: किरात समुदायको नयाँ बर्ष माघ १ अथार्त यले संवत ५०८३ को अवसरमा हुन लागेको यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटवल प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने भएको छ । 

धरान बास्केटवल संघको आयोजनामा पुष २९ र ३० गते प्रतियोगिता हुन लागेको छ । प्रतियोगिताको अन्तिम तयारी अनुसार बिहिवार आयोजकले खेल तालिका तयार गरि सार्वजनिक पनि गरेको छ। धरान १२ स्थित धरान मेघा कलेजको हलमा सहभागी टिमको प्रतिनिधित्वको उपस्थितिमा खेल तालिका तयार गरिएको थियो । प्रतियोगताको उद्घाटन खेल अल्ट्रा मेघा टिम र होलिल्याण्ड वि टिम विच प्रतिस्पर्धा हुने भएको छ। 

प्रतियोगितामा इलाम टिम, विर्तामोड, झापा टिम, मोरङ टिमसंगै धरानवाट अल्ट्रा मेघा, मेघा अल स्टार, मेघा ए, मेघा वि, होलिल्याण्ड ए, होलिल्याण्ड वि, होलिल्याण्ड सि, सियोन स्कुल, लोटस स्कुल, युवा जागृति क्लव, धरान आर्दश, डिपो, काम्रेल, चिल्ड्रेन स्कुल र मिराकल टिमले सहभागिता जनाएको छ।

प्रतियोगिताका विजेता टिमले नगद ७ हजार र उपविजेता टिमले नगद ३ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद १ हजार ५ सय र ट्रफि प्राप्त गर्नेछ । किरात समुदायहरुले माघ १ गते माघे संक्रातिलाई नयाँ बर्षको रुपमा मान्दै आइरहेको छ । हरेक वर्ष मनाउदै आइरहेको यले संवतलाई यो वर्ष पनि किराती समुदायले यले संवत ५०८३ को रुपमा देशभर भव्यरुपना मनाउदैछन् । देशविदेशमा रहेका किरात समुदायहरुले समेत आआफ्नै तरिकाले यले संवत यलेदोङलाई भव्य रुपमा मनाउने गरेका छन् ।