धरान: किरती समुदायहको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थ्री वाइ थ्री ओपन महिला वास्केटवल प्रतियोगिता ५०८३ को फाइनलमा धरान मेघा अल स्टार टिम र विर्तामोड, झापा टिम भिड्ने भएको छ । 

धरान बास्केटवल संघको आयोजनामा शुक्रबार शुरु भएको दुईदिने प्रतियोगितामा निरन्तर जित हासिल गर्दै मेघा अल स्टार फाइनल पुगेको हो । मेघाले होलिल्याण्ड वि, धरान आर्दश, मेघा ए र होलिल्याण्ड ए टिमलाई पराजित गरेको थियो । यस्तै, विर्तामोड झापाले होलिल्याण्ड सि, डिपो स्कुल र युवा जागृति क्लवलाई पराजित गर्दै फाइनल यात्रा गरेको हो । 

basket

धरान मेघाको बास्केटवल कोर्टमा शुक्रवार प्रतियोगिताको उद्घाटन किराती संस्कार अनुसार प्रमुख अतिथि १ नम्बर प्रदेश सांसद रमेशकुमार वस्नेतले गरेका थिए । उनले वाबु (चिण्डो)बाट बास्केटवलमा रक्सि छर्किएका थिए भने विशेष अतिथि धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले ढोल र धरान १८ वडाध्यक्ष प्रविण राईले झ्याम्टा बजाएर प्रतियोगिताको उद्घाटन गरिएको थियो । किराती संस्कारमा वाबुलाई शुद्धताको प्रतिकको रुपमा मानिन्छ। किराती समुदायले सुख र दुःख दुवै कार्यमा चिण्डोको प्रयोग गर्ने गर्दछ । प्रतियोगिता किरात न्यु इयर इभको रुपमा मनाउदै आयोजना गरिएको हो ।

basket2

प्रतियोगिताका विजेता टिमले नगद ७ हजार र उपविजेता टिमले नगद ३ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद १ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा इलाम टिम, विर्तामोड, झापा टिम, मोरङ टिमसंगै, धरानबाट अल्ट्रा मेघा, मेघा अल स्टार, मेघा ए, मेघा वि, होलिल्याण्ड ए, होलिल्याण्ड वि, होलिल्याण्ड सि, सियोन स्कुल, लोटस स्कुल, युवा जागृति क्लव, धरान आर्दश, डिपो, काम्रेल, चिल्डे्रन स्कुल र मिराकल टिम गरि १८ टिमले सहभागिता जनाएको छ ।

सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय उपाध्यक्ष दोर्पध्वज राई, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान १० वडाध्यक्ष विवेक राई, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पुर्ण खेल धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा भइरहेको छ । मेघा अलस्टार र विर्तामोड विचको फाइनल खेल शनिवार विहान ९ वजे हुनेछ ।

basket3