धरान: आजदेखि धरानको चर्चित फुटवल प्रतियोगिता टुबोर्ग गोधुली रनिङ्ग कपको २३ औं सँस्करण शुरु हुदैछ ।
धरान १६ स्थित रंगशालमा दिउँसो २ बजे प्रतियोगिताको उद्घाटन हुनेछ । उद्घाटन खेल धरानको वडा नं १३ र वडा ५ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल माघ १४ गते हुनेछ । बुढासुब्बा गोल्डकप भन्दा पनि अघि वि.स.२०५० सालदेखि शुरु भएको प्रतियोगिता केही बर्ष भने रोकिएको थियो । धरानमा फुटबल खेलाडी उत्पादनमा यो प्रतियोगिताको ठुलो योगदान रहेको छ ।
प्रतियोगितालाई टुबोर्ग वियरले मुख्य प्रायोजन गरेको छ भने सहप्रयोजन धरान १७ समाज हङकङ, वडा नं १७ कार्यालय र सेन्ट जोसेफ ई.बोडिङ स्कुलले गरेको छ । क्लबका उपाध्यक्ष सतिस केसीका अनुसार प्रतियोगितामा धरानको २० वटै वडा कार्यालयको टिम सहभागिता रहनेछ । यो प्रतियोगितामा वडा कार्यालयहरुले आफ्नो वडाका स्थायी बासिन्दा रहेका खेलाडीहरुलाई समेटेर टिम तयार गरी सहभागिता जनाउने गरेको छ ।
प्रतियोगिताको विजेताले रनिङ ट्रफीसहित नगद १ लाख ५० हजार पुरस्कार पाउनेछ भने उपविजेताले ७५ हजार नगद पाउनेछ । यस्तै, वडा नं १८ का वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) र उनका बुबा ध्यानबहादुर राईले विजेता र उपविजेता टिमलाई थप २५÷२५ हजार नगद पुरस्कार थपिदिने उपाध्यक्ष केसीले जानकारी दिए । २१ औं सँस्करणदेखि वडाअध्यक्ष राई र उनका बुबाले विजेता र उपविजेतालाई नगद पुरस्कार थपिदिने गरेको पनि उपाध्यक्ष केसीले जानकारी दिए ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार, हाई स्कोररले नगद ७ हजार ५ सय पाउनेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट र फाइनलको म्यान अफ दि म्याचले नगद ५ हजार ५ सय पाउनेछन् । प्रतियोगितामा कुल १५ लाख १३ हजार ३६५ रुपैया खर्च हुने अनुमान गरिएको पनि क्लबले जनाएको छ । प्रतियोगिताको क्वार्टरफाइनल पुग्ने टिमलाई समेटेर धरान उपमहानगरपालिकाले स्वर्गीय सुवास राई स्मृति सुपर ८ प्रतियोगिता पनि आयोजना गराउनेछ । गत बर्षदेखि उपमहानगरले यो प्रतियोगिता शुरु गरेको हो । यो बर्ष पनि ७ लाख बजेट विनियोजन गरिएको छ ।