धरानः २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं १७ पनि फाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा बिहिबार भएको अन्तिम सेमीफाइनलमा वडा नं १६ लाई ३–० गोल अन्तरले हराउदै वडा १७ फाइनल प्रवेश गरेको हो । अब फाइनलमा वडा १७ ले वडा नं १५ को सामाना गर्नेछ । हिजो बुधबार वडा नं ५ लाई हराउदै वडा १५ फाइनलमा प्रवेश गरिसकेको छ । 

बिहिबार भएको खेलमा वडा नं. १७ को जितमा मिलन राईले २ गोल गरे भने सुशिल राईले एक गोल गरेका थिए । पहिलो हाफ गोल रहित बराबरी खेलेपनि दोस्रो हाफमा वडा १७ ले ३ गोल गरेर उपाधि नजिक पुगेको हो । 

godhule1

दोस्रो हाफको ७ मिनेटमा वडा १७ ले पेनाल्टीमार्फत गोल गरेको थियो । वडा १६ का खेलाडीले मिलन राईलाई डिबक्स भित्र फल गरेपछि पेनाल्टी अवसरलाई सदुपयषेग गर्दै मिलनले नै गोल गरेका थिए । दोस्रो हाफको १७ मिनेटमा सुशिल राईले गोल गर्दै अग्रता दोब्बर बनाए भने २७ औं मिनेटमा मिलन राईले खेलको तेस्रो गोल गर्दै जित सुनिश्चित गरे । 

खेलको म्यान अफ द म्याच १७ नं. वडाका सुशिल राई घोषित भए । उनलाई नगद २५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो । शनिबार धरान रंगशालामा वडा नं. १५ र १७ बिच फाइनल खेल हुनेछ । वडा नं १७ ले गोधुलीको उपाधी तीन पटक जितिसकेको छ भने वडा नं १५ एक पटक मात्र विजेता भएको छ । वडा नं १५ गतवर्षको सुपर ८ लिग स्वर्गीय सुवास राई स्मृति फुटबल लिगको विजेता पनि हो ।