धरान: बषौंदेखि हाइटेन्सनबाट पीडित धरानका विभिन्न वडाका नागरिकहरुको समस्या हल गर्न समिति गठन गरिएको छ । 

बिहिबार मेयर हर्क साम्पाङको कार्यकक्षमा हाइटेन्सन पीडित नगरबासीहरुसँग भएको छलफलमा स्थानान्तरणको लागी सम्भाव्यता अध्ययनको लागी एक समिति गठन गरिएको हो । उक्त समितिलाई हाइटेन्सन लाइनको स्थानान्तरण तथा व्यवस्थापन गर्नको लागी सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेश गर्ने म्याण्डेट दिइएको छ । समितिलाई १० दिनको म्याद दिइएको छ ।

समितिको संयोजकमा वडा १३ का जीवनदिप सुब्बा रहेका छन् भने सदस्यहरुमा वडा ५ बाट कविचन्द्र याक्खा, राजकुमारी बेघा, वडा १५ बाट मथुरा थापा, प्रेमकुमार श्रेष्ठ, कुमार तामाङ, रुपेश मास्के, तुलसा श्रेष्ठ, विमल मास्के छन् भने वडा ८ बाट संविधान लिम्बु, अस्मिता माझी र सन्तोष पाख्रिन रहेका छन् । वडा १३ बाट समितिमा सरोज तामाङ सदस्य छन् भने वडा १४ बाट प्रेम खापुङ रहेका छन् ।

धरानको वडा १५, १४ र १३ हुदै धनकुटातर्फ ३३ केभिए हाइटेन्सन लगिएको छ । उक्त हाइटेन्टसनले घाइते मात्र नभै ज्यानसमेत गएको घटनाहरु छन् । अध्ययन गर्न गठित समितिका संयोजक सुब्बाको घरमाथि रहेको हाइटेन्सनले करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनी ६ महिना काठमाण्डौंमा उपचार गरेर फर्किएका हुन् । 

मेयर साम्पाङले पीडितहरुलाई नै विकल्प पेश गर्नको लागी समिति गठन गरेर नेतृत्व दिइएको बताए । समितिले प्रतिवेदन पेश गरेपछि विद्युत प्राधिकरणसँग पनि बसेर प्राविधिकरुपमा छलफल गर्ने मेयर साम्पाङले बताए । ‘हाइटेन्सनबाट पीडित भएको भनेर धेरै आउनुभयो । तर हाइटेन्सनलाई कता व्यवस्थापन गर्ने ? उहाँहरुबाट नै के विकल्प छ ? त्यो आवोस् भनेर समिति गठन गरिएको हो,’उनले भने ।