धरान: धरान १२ स्थित धरान मेघा हिमालयन कलेजले विभिन्न प्रतियोगितामा विजेता आफ्ना विद्यार्थी खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।
धरान मेघाले मंगलवार एक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरु माझ खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरेको हो । कलेजले भर्खरै सम्पन्न हिसान स्पोर्टस मिटमा आयोजना भएको बास्केटवलका पुरुष टिम विजेता, महिला टिम उपविजेता, फुटवल खेल विजेता, टेवलटेनिस विजेता, भलिवल तर्फ उपविजेता पुरुष टिम, वक्तित्वकला दास्रो, व्याडमिन्टनमा तोस्रो र नृत्य तर्फका चौथो हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

यसैगरि किरात नयाँ बर्ष ५०८३ को अवसरमा आयोजित यलेदोङ ओपन बास्केटवल च्याम्पियन महिला बास्केटवल टिम, होलिल्याण्ड बास्केटवल च्याम्पियन पुरुष टिम, एनप्याव्सन बास्केटवल च्याम्पियन पुरुष टिम, मेयर कप फुटवल च्याम्पियन, अखिल फुटवल कप च्याम्पियन, धरान उपमहानगर वक्तित्वकला च्याम्पियन, सुनौलो पुस्तकालय वक्तित्वकलामा दोस्रो हुने खेलाडीहरुलाई पनि सम्मान गरेको हो ।
खेलाडीहरुसँगै बास्केटवल प्रशिक्षक विवेक श्रेष्ठ, फुटवल प्रशिक्षक खेम गुरुङ्ग, व्यवस्थापक विवेक पाण्डे, भलिवल प्रशिक्षक तुलाराम राई र नृत्य प्रशिक्षक दिवस श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वु, प्राचार्य भाष्कर पौडेल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम लगायतले अविर र खदा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा विजेता तथा उपविजेता खेलाडिहरुले कलेज र विद्यालयका विद्यार्थीहरुलाई आफुले जितेका ट्रफि र मेडल प्रर्दशन गर्दै खुशियाली मनाएका थिए । मेघा कलेजले शिक्षा संगै विद्यार्थीको इच्छा र क्षमता अनुसार अतिरिक्त क्रियाकलापलाई पनि उति नै महत्वका साथ अघि लाने अध्यक्ष लिम्वुले वताए । मानव जिवनमा शिक्षा र स्वास्थ्य अनिवार्य रहेकोले खेलकुदले स्वास्थ्य रहन सहयोग पुर्याउने वताए ।


                    
		
                                        
                                                                                                
		


		
		
		
		



