धरान: श्रमदानमार्फत धरान वडा नं ४ स्थित भालुखोलाबाट ल्याएको पानीलाई जम्मा गर्न हर्क साम्पाङ सपोर्ट कमिटी युकेले १ लाख लिटर क्षमताको ट्यांकी बनाइदिने भएको छ । 

सपोर्ट कमिटीको आर्थिक सहयोगमा खत्रीधारादेखि करिब सय मिटर उत्तरतर्फ ट्यांकी निर्माण हुन लागेको हो । सोमबार बिहान दाता एवं कमिटीका सहसंयोजक देव लिम्बु, गोर्खा वेल्फेयर ट्रष्ट धरानका प्रमुख पुर्ण लिम्बु, खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलसहित मेयर हर्क साम्पाङ पनि फिल्ड भिजिट गर्न पुगेका थिए । सहसंयोजक लिम्बुका अनुसार टंकी बनाउनको लागी कमिटीले ३० लाख रकम सहयोग जुटाइसकेको छ । अब औपचारिकरुपमा सम्झौता गरेर काम शुरु भएपछि रकम दिइने पनि उनले बताए । 

सपोर्ट कमिटीले निशाने ट्यांकीमा पनि आर्थिक सहयोग गरेको थियो । त्यसबेला संकलन भएको रकममध्ये १२ लाख ७२ हजार बचत भएको थियो । पछिल्लो पटक जनवरी ३१ सम्म पथ १७ लाख ५१ हजार ५ सय ९७ उठेको पनि सहसंयोजक लिम्बुले जानकारी दिए ।

support

मेयर साम्पाङका अनुसार बिशेष गरि वडा नं १५, ७, २ र ८ लाई लक्षित गरेर उक्त स्थानमा टंकी बनाउन लागिएको हो । उक्त ठाउँको विकल्पमा भालुखोला नजिकको जग्गा पनि स्थलगतरुपमा हेरिएको थियो । खत्रीधारा मास्तिरको जग्गाबाट हेड नपुगेमा मात्र वैकल्पिक स्थानमा टंकी बनाइने खानेपानी बोर्डका कार्यकारी निर्देशक पोखरेलले बताए । 

वेल्फेयर प्रमुख पुर्ण लिम्बुका अनुसार सपोर्ट कमिटीबाट ३० लाख हाराहारीमा सहयोग आउनेछ । तर, टंकी निर्माणको स्टिमेट भने ३८ लाख हाराहारी रहेको छ । बाँकी रकम उपमहानगरपालिका वा कसरी जुटाउने भनेर पनि थप छलफल गरिने उनले बताए । श्रमदानबाट भालुखोलामा एउटा कलेक्सन टंकी बनाइएको छ भने त्यहाँबाट पाइप विस्तार गरेर पानी निराजन बस्ती नजिक खानेपानी बोर्डको पाइपलाइनमा जडान गरिएको छ । 

भिडियो: