धरान: धरान उच्च माविकोरुपमा ख्याती कमाएको धरान १ स्थित धरान सेकेण्डरी स्कुलले आफ्नो स्थापनाको रजत जयन्तीको पुर्वसन्ध्यामा बास्केटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

२०५५ सालमा स्थापना भएको यो उच्चमाविले यही फागुन ५ र ६ गते प्रदेश १ स्तरीय थ्री बाई थ्री रजत जयन्ती बास्केटवल प्रतियोगिता आयोजना गर्ने भएको हो । स्कुलले बुधबार पत्रकार सम्मेलन गर्दै खेलकुदलाई पनि शिक्षासँग जोड्नको लागी रजत जयन्तीको पुर्वसन्ध्यामा प्रतियोगिता आयोजना गरिन लागेको जानकारी दिएको हो । प्रतियोगिता महिला र पुरुष दुवै विधामा हुने स्कुलका प्रिन्सिपल चित्रप्रसाद ढुंगेलले जानकारी दिए । उनका अनुसार प्रदेश १ का झापा, मोरङ र सुनसरीबाट विभिन्न स्कुलहरुले सहभागिता जनाएको भएको छ । 

प्रतियोगितामा पुरुषतर्फ १५ टिम सहभागीता रहनेछ भने महिलातर्फ १० टिम सहभागी हुने पक्का भइसकेको पनि प्रिन्सिपल ढुंगेलले जानकारी दिए । पुरुषतर्फको विजेताले ट्रफीसहित नगद ५ हजार र उपविजेताले नगद २५ सय हात पाउनेछ । महिलातर्फको विजेताले ट्रफीसहित ३ हजार र उपविजेताले २ हजार नगद पुरस्कार पाउनेछ । यस्तै, मोष्ट भ्यालुएवल प्लेयर, राइजिङ प्लेयरको पनि पुरस्कार दिइनेछ । 

dharan-uchha

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने पनि आयोजकले जनाएको छ । विद्यालयहरुबीचमा अन्तरसम्बन्ध प्रगाढ बनाउन पनि खेलकुदको भुमिका हुने अपेक्षा आयोकज विद्यालयको छ । विद्यालयका सञ्चालक हेमचन्द्र अधिकारीले गुणस्तरीय शिक्षाको खोजीमा विद्यार्थीहरु विदेश पलायन हुन नपरोस् भनेर २०५५ सालमा उच्चमावि शुरुवात गरिएको जानकारी दिए । आफ्ना विद्यार्थीहरु देश विदेशको महत्वपुर्ण पदमा रहेर काम गरिरहेको पनि उनले बताए । स्कुलले रजत जयन्ती भने २०८० सालमा वृहत कार्यक्रमहरु आयोजना गरि मनाउने पनि उनले बताए ।  

धरान सेकेण्डरी स्कुलसँगै विरेन्द्र मेमोरियल कलेज, धरान कलेज अफ मेनेजमेन्ट पनि सहकार्यमा सञ्चालनमा रहेको छ । धरान कलेज अफ मेनेजमेन्टले पुर्वाञ्चल विश्वविद्यालयबाट सुनसरीमै पहिलो पटक एमबिए सम्बन्धन ल्याएर हाल भर्ना खुला गरेको पनि अधिकारीले जानकारी दिए । यस्तै, बिबिए अध्ययनरत विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभै फिल्डमै अध्ययन गराउन पठाएर व्यवहारिक ज्ञान पनि दिइरहेको उनले बताए ।