धरान: ग्याँस लिक भएको सिलिण्डर मर्मत गर्ने क्रममा विष्फोट भएर धरान १७ मा ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना बालबालिका रहेका छन् । 

ईलाका प्रहरी कार्यालय धरानका अनुसार सविता राईको घरमा डेरामा बस्दै आएकी अञ्जना राईको कोठामा उक्त घटना भएको हो । कोशी ग्याँसको सिलिण्डर लिक भएको खबर पाएपछि कर्मचारीहरु मर्मत गर्न आएका थिए । सिलिण्डर मर्मत गर्ने क्रममा आगो बलेर उक्त घटना भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । उनका अनुसार घाइते हुनेहरु सिलिण्डर मर्मत गर्दै गरेको हेर्ने क्रममा परेका हुन् ।

घाइतेहरुमध्ये २ जना बालबालिका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । चार जनाको अवस्था भने केही चिन्ताजनक भएको वडाअध्यक्ष सुर्यबहादुर भट्टराई मनोजले जानकारी दिए । घाइतेहरुको वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।