धरान: प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधी धरान मेघा हिमालयन कलेजले जितेको छ । 
प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ सियोन स्कुललाई २९-११ र पुरुषतर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरीलाई ४२-३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधीमा कब्जा जमाएको हो । धरान मेघाले उपाधीसङ्गै पुरुषतर्फ नगद ३० हजार र महिलातर्फ २० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरुषतर्फका उपबिजेता राष्ट्रिय जनसहयोग कलेजले नगद २० हजार, महिला तर्फ उपबिजेता सियोन स्कुलले नगद १० हजार रुपया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उनीहरुलाई कार्यक्रमका अध्यक्ष तथा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, अल्फा बिटा कोयला एजुकेसनका अध्यक्ष लोकेन्द्र श्रेष्ठ, म्यानिजिङ डाइरेक्टर सन्जिब राई, बास्केटबल संघका कोषाध्यक्ष गौरब श्रेष्ठले पुरस्कार बितरण गरेका थिए।

फाइनल खेलमा महिलातर्फ धरान मेघा र सियोन स्कुलले प्रत्यक क्वाटरमा ३-१, ६-४, ८-० र १२-६ अंक जोडेका थिए । पुरुषतर्फ अत्यन्त प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा धरान मेघा हिमालयन र राष्ट्रिय जनसहयोगले १३-१२, १३-७, ७-१४ र ९-६ अंक जोडेको थियो । फाइनल खेलमा धरान मेघाका सितल तामाङले १० र धरान मेघाका युवाहाङ राइले १९ अंक जोडे ।
प्रतियोगिताको फाइनल खेलको प्रमुख अतिथी धरानका मेयर हर्कराज साम्पाङ राई रहेका थिए । उनले बास्केटबल सट गरेर फाइनल खेलको उद्घाटन गरेका थिए । उनले एकै सटमा बास्केटबल रिङमा बास्केट गरे पछि फाइनल खेल प्राबिधिकहरुले सुरु गरेका थिए ।
दिदी भाइले जिते एमभिपी पुरस्कार

प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधी मोस्ट भ्यालुएबल पुरस्कारको उपाधी दिदी भाइले जितेका छन् । धरान मेघा कलेजको १२ कक्षामा अध्यनरत योगेश राई र ब्याचलर पहिलो बर्षमा अध्यनरत तनु राइले उपाधी जितेका हुन्। उनीहरुले उपाधी सङ्गै नगद २ हजार ५ सय, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उनीहरु दुबै जना धरान बास्केटबल संघ सुनसरी बास्केटबल संघको सिफारिसमा छात्रवृत्तमा अध्ययन गरिरहेका छन् ।
प्रतियोगिताको हाइ स्कोरर उपाधी महिला तर्फ धरान मेघा कलेजका सितल तामांग घोषित भए । उनले तीन म्याचमा ब्यक्तिगत २५ अङ्क जोडेका थिए । पुरुष तर्फ राष्ट्रिय सनसहयोग कलेजका अस्मिल राई घोषित भए। उनले ४ म्याचमा ४२ अङ्क जोडेका थिए । उनीहरुले नगद २ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताको उदयीमान खेलाडी धरान मेघाका सबिन राई र सियोन स्कुलका सेरिना लिम्बू घोषित भइन् । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
 प्रकाश पौडेल ३ पोइन्ट कम्पिटिसन
प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन भएको थियो । पुरुष तर्फ धरान सिटि कलेजका हेमराज लिम्बू र धरान मेघाका तनु राईले यो उपाधि जिते । हेमराजले तीस सेकेन्डमा ४ र तनुले ३ बास्केट गरेका थिए । उनीहरुले जनही नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । ३ पोइन्ट कम्पिटिसनको प्रायोजक चर्चित कलाकार एव धरानको पुर्व बास्केटबल खेलाडी प्रकाश पौडेलले गरेका हुन । प्रतियोगितान्को पहिलो सस्करणमा समेत पौडेलले नै प्रायोजक गरेका थिए ।
धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रतियोगितामा सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग तथा अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन रहेको थियो । धरान रंगशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा धरान १८ वडाध्यक्ष प्रबिन राई, १० न. वडाध्यक्ष बिबेक राई, १६ न. वडाध्यक्ष मुरारी भट्टराई, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ , धरान फुटबल क्लबका अध्यक्ष किशोर राई लगायतको उपस्थिति रहेको थियो । 
भिडियो:

                    
		
                                        
                                                                                                
		


		
		
		
		



