धरान: बिहिबारदेखि शुरु हुन लागेको १० दिने धरान एक्स्पो २०७९ को तयारी पुरा भएको छ । 

आयोजक सुनसरी उद्योग वाणिज्य संघले बुधबार दिउँसो आयोजनास्थल धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । स्टलहरु सबै तयार भइसकेको र अब उद्योगी, व्यापारीहरुले आफ्नो उत्पादनहरु ल्याएर राख्न मात्र बाँकी रहेको मुल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । कुल १२३ स्टल रहेकोमा ११५ वटा बुकिङ भइसकेको पनि उनले बताए । एक्स्पोमा कम्पनीहरुले सिधै स्टल राख्ने भएकोले उपभोक्ताहरुले सुलभमुल्यमा किनमेल गर्न पाउने उनले बताए । 

dharan expo2

एक्स्पोमा ठुला उद्योगदेखि घरेलु तथा साना उद्योगका उत्पादनहरु बिक्री र प्रर्दशनीको लागी राखिने आयोजकले जनाएको छ । कृषि उत्पादनलाई पनि ठाउँ दिइएको अध्यक्ष श्रेष्ठले बताए । एक्स्पोमा दैनिक ३० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ भने १० करोड हाराहारीमा कारोबार हुने अपेक्षा आयोजकको छ । एक्स्पोमा भारत, पाकिस्तान र वंगलादेशका पनि १५ वटा स्टल हुनेछ । एक्स्पो अवधिमा बेरोजगारलाई स्वरोजगार बनाउन, पर्यटन सम्बन्धी र खानेपानी समस्या समाधान गर्नेबारे गोष्ठी पनि हुनेछ । 

dharan expo1

अध्यक्ष श्रेष्ठका अनुसार एक्स्पोको उद्घाटन बिहिबार १ बजे प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीबाट हुनेछ । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाई, पुर्वअध्यक्ष चण्डीराज ढकालको पनि उपस्थिति रहने आयोजकले जानकारी दिएको छ । फागुन २० गते समापनमा भने सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराती प्रमुख अतिथि हुनेछन् । 

एक्स्पोको सुरक्षाको लागी सिसिटिभी जडान गरिएको संयोजक गोपाल श्रेष्ठले बताए । यस्तै, दैनिक २० सशस्त्र प्रहरी, १० जना नेपाल प्रहरी र २० जना निजी सेक्युरिटी गार्ड परिचालन गरिने उनले बताए । हरेक साँझ सांगीतिक कार्यक्रम पनि हुने एक्स्पोमा दिउँसो ४ बजेपछि भने प्रवेश शुल्क एक रुपैया लाग्नेछ । साथै, राष्ट्रियस्तरको कलाकारको प्रस्तुती रहदा टिकट दर बढ्ने पनि संघका अध्यक्ष श्रेष्ठले बताए । 

भिडियो: